झापा । झापा गोल्ड कपको पाँचौँ संस्करणलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलोपटक औपचारिक गीत , मस्कट , नारा सार्वजनिक गरिएको छ ।
झापाको भूगोल र यहाँको फुटबलप्रतिको लगावलाई समेट्दै जिल्लालाई फुटबल हबको रुपमा विकास गर्ने उद्देश्यले गीत निर्माण गरिएको गोल्डकप मूल आयोजक समितिले जनाएको छ ।

विहिबार विर्तामोड स्थित गोल्डकप सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलोपटक औपचारिक गीत निर्माण गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताउनुभयो।
गीतकार बसन्त थाम्सुहाङको रचना रहेको गीतमा पारस मुकारुङले संगीत भरेका छन् भने उक्त गीतमा गायक डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दिपा लामाको स्वर रहेको छ ।
त्यस्तै, पाँचौँ झापा गोल्ड कपको औपचारिक मस्कटका रुपमा हात्तीको छावालाई प्रतिनिधित्व गराइएको छ । छावाले फुटबल किक गर्दै गरेको प्रतिकका रुपमा मस्कट निर्माण गरिएको छ । मस्कटको निर्माण कलकार पवन राजवंशीले गरेका हुन् ।
यो वर्षको झापा गोल्ड कपको नारा ‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो शान’ तय गरिएको छ ।झापामा स्थायी रंगशाला निर्माण गर्ने उद्देश्यका साथ यो नारा सार्वजनिक गरिएको गोल्डकपका अध्यक्ष बस्नेतले बताउनुभयो ।
झापाबासीकै प्रतिष्ठासँग जोडिएको सो प्रतियोगितालाई सानदार ढंगले सफल बनाउन झापाली उद्योगी, व्यवसायी र खेलप्रेमी महानुभावहरु पत्रकार, मिडिया हाउसहरुको भूमिका महत्वपूर्ण रहने भएकोले सम्पूर्ण उद्योगी, व्यवसायी, पत्रकार साथीहरुलाई साथ र सहयोगको लागि अपील पनि गरिएको छ ।
आयोजक समितिको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘झापा गोल्डकपलाई एउटा सामाजिक तथा स्थापित संस्थाको रुपमा अगाडि बढाउन र जिल्लामा नै अगुवा संस्थाको रुपमा चिनाउन सबैखाले सामाजिक अभियानसँग जोडेर आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व सहितको रचनात्मक कार्यहरुमा यस संस्थालाई सक्रियताका साथ अगाडि बढाउने प्रतिबद्धता गर्दछौँ ।
’झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्ने कोषाध्यक्ष केदार गिरीले जानकारी दिनुभयो।
त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही २१ हजार र उच्च गोलकर्तालाई २५ हजार रूपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई ९ हजार ९९९ रुपैयाँ दिइने आयोजकले जनाएको छ।
प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ए डिभिजन क्लब, मोफसलका एक वा दुई क्लब र विदेशी क्लबको सहभागिता रहनेछ।
गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने प्रतियोगिता फागुन २१ गते देखि २७ सम्म सञ्चालन हुनेछ ।

