खेलकुद

साफ यू-२० च्याम्पियन्सिप : भारतसँग नेपालको लज्जास्पद हार

काठमाडौं । साफ यू२० च्याम्पियन्सिपको समूह चरणको तेस्रो खेलमा नेपाल भारतसँग ८-० ले पराजित भएको छ । साफको उमेर समूह प्रतियोगितामा नेपालले भोगेको यो सबैभन्दा फराकिलो हार‌ हो ।

पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक चलेको खेलमा भारतले दोस्रो हाफ गोल वर्षा गर्यो । गोलरक्षकको गल्तीको फाइदा उठाउँदै अग्रता लिएको भारतले दोस्रो हाफमा भने नेपाललाई कुनै मौका दिएन ।

खेलको ३२ अ‍ौं मिनेटमा टाइसन सिंह लोइटङबमले भारतका लागि गोल गरेका हुन् । नेपालका गोलरक्षक इश्वर गुरुङको गल्तीको फाइदा उठाउँदै उनले गोल गरे । बायाँ विंगबाट आएको क्रस विना कुनै दवाव समाउने क्रममा इश्वरको हातबाट फुस्किएको थियो । उक्त बल भुइँमा नझर्दै टाइसनले हेडरमार्फत गोल गरे ।

दोस्रो हाफको सुरुवातमै भारतले लगातार गोल गर्दै अग्रता बढायो । पार्थिव गोगोइले ५२ अ‍ौं मिनेटमा गोल गर्दै २-० ले अघि बढाए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोल भएको थियो । त्यसको एक मिनेटमै पार्थिवले व्यक्तिगत दोस्रो गोल थपे । यसपटक उनले थ्रु पासमा अफसाइड बिट गर्दै सुन्दर चिप प्रहारमा गोल गरे ।

६२ अ‍ौं मिनेटमा पाथुप गिमानाले गोल गर्दैै भारतलाई ४-० ले अघि बढाए । ७१ अ‍ौं मिनेटमा भारतले पेनाल्टीको अवसर पायो । हिमांशु झाङ्ग्राले गोल गर्दै स्कोर ५-० बनाए । मोहमद रिकाजले ७८ अ‍ौं मिनेटमा गोल गर्दै ६ गोलले अघि बढाए । गुर्किरत सिंहले ८९ अ‍ौं मिनेटमा गोल गर्दै ७-० बनाए । सुभो पलले इन्जुरी समयमा गोल गर्दै ८-० को जित दिलाए ।

यस हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । १-१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् ‌‌।

अब नेपालले प्रतियोगिताको फाइनल प्रवेश गर्ने सम्भावना भने जिवित छ । नेपालले बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरे फाइनलमा स्थान पक्का गर्नेछ । बंगलादेशसँग बराबरी भएको खण्डमा भने भारत माल्दिभ्ससँग पराजित भए नेपाललाई पुग्छ । माल्दिभ्स र भारत बराबर भए नेपालले बंगलादेशलाई १ गोलले हराए पनि पुग्नेछ ।

मंगलबार हुने खेलमा नेपालले बंगलादेश तथा भारतले माल्दिभ्सको सामना गर्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।