स्वास्थ्य

पूजाको प्रसाद खाँदा एउटै गाउँका ७९ जना भन्दा बढी बिरामी, बिरामी हुनेमा अधिकांस महिला र बालबालिका

झापा । झापाको मेचीनगरमा पूजाको प्रसाद खाँदा एउटा गाउँका सबै बिरामी भएका छन् । मेचीनगर–६ काँकरभिट्टा स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा ७९ जना भन्दा बढी गाउँले बिरामी भएर अस्पताल भर्ना भएका छन् ।

एकैचोटी ३५ जनाबाट सुरु भएको बिरामी ५० हुँदै अहिले ७९ जना पुगेको मेचीनगर १० का वडा सदस्य सोम ओझाले जानकारी दिए । उनका अनुसार बिरामी हुनेको संख्या अझै बढ्न सक्ने जनाए ।

स्थानीय जनम थापामगरको घरमा आइतबार भीम मगरको एक वर्षको बर्खान्त सकेर सोमबार पूजा लगाइएको थियो । मगर परिवारले वार्षिकी सकेर लगाइएको पूजामा आफन्त र छिमेकीलाई प्रसाद खान बोलाएको र सोहि खाँदा आफुहरु बिरामी भएको उनीहरुको भनाई छ । पूजामा सामान्य सेलरोटी, सब्जी पुरी, अचार र फलफुलको चानाचुनी पर्सादीका रुपमा खाएको बिरामीको भनाई छ । तर, अहिले स्वास्थ्यमा समस्या आएर उपचारका लागि अस्पताल नै बस्नु परेको उनीहरुको बनाइ छ ।

मगर परिवारले लगाएको पूजामा पर्सादी खाएका मध्ये बिरामी हुनेहरुमा अधिकांश महिला र बच्चा रहेका छन् । उनीहरुमा झाडापखला, ज्वरो आउने, टाउँको दुख्ने, रिगटा चल्नेलगायतको समस्या देखा परेको छ । अहिले उनीहरुको मेचीनगर १० स्थित आम्दा मेची अस्पतालमा उपचार भइरहेको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी बताउँछन् । उनले नगरपालिकाको तर्फबाट अहिले बिरामीको अवस्था बुझदै उपचारमा आवश्यक समन्वय गरिरहेको बताए ।

यता बिरामीको उपचारमा संलग्न चिकित्सकका अनुसार खानामा समस्या भएका कारण उनीहरुको स्वास्थ्यमा समस्या आएको बताउँछन् । यसरी समुहमा सबै जना एकै पटक बिरामी पर्नु भनेको विषाक्त खानाले नै भएको चिकित्सक बताउँछन् । फुडपोइजनको कारणले झाडापखाला लागायतको समस्या भएको बताउँदै अहिले बिरामीको अवस्थामा सुधार भइरहेको चिकित्सकको भनाइ छ।