मेचीनगर । हिन्दुहरूको महान् चाड विजय दशमी, शुभ दिपावली पर्वको अवसरमा शहर बजार, गाँउघर सबैतिर लगाइने लिङ्गे पिङ पछिल्लो समय हराउँदै गएको छ । त्यसलाई आफ्नो ठाँउमा संरक्षण गर्न झापा मेचीनगर ७ स्थित प्यारीभिट्टाका युवाहरू लागिपरेका छन् ।
परापुर्व कालदेखि चल्दै आएको लिङ्गे पिङ पछिल्लो पुस्ताले बेवास्ता गर्दा लोप हुने अवस्थामा पुगीरहेको छ । त्यसलाई अहिले समाजका अगुवा युवाहरू एकजुट भएर लिङ्गे पिङ संरक्षणमा लागेका हुन् ।

प्यारीभिट्टामा युवाहरूले दशैंको फुलपातीको अवसर पारेर आज विधिवत् लिङ्गे पिङ्गको उद्घाटन गरेका हुन् । पिङको उद्घाटन समाजसेवी बन्दन कुमार मुण्डा र इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख डिएसपी ज्ञान कुमार महतोले संयुक्त रिवन काटेर गरेका थिए ।
पुजा आरधना गरि विधिवत् रूपमा रिवन काटेर पिङ उद्घाटन गरिएको कार्यक्रममा युवा समाजसेवी कञ्चन बराल, होम प्रसाईं, चन्दन गौतमलगायत विभिन्न टोल विकास संस्थाका प्रमुख, सशस्त्र प्रहरीका प्रतिनिधि, समाजका जेष्ठ नागरिकलगायलको आतिथ्यता रहेको पिङ व्यवस्थापन समिति अध्यक्ष आशिष गिरीले जानकारी दिए ।
युवा समाजसेवी राजु सिवाकोटीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत गंगा बराइलीले गरेका थिए भने सञ्चालन घनश्याम लामिछानेले गरेका थिए ।

