राजनीति

दुईपटक अरुलाई लगाएको माला यसपटक मलाई लगाइदिन जनता आतुर छन् : महामन्त्री शर्मा

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले यस पटक आफ्नो जित सुनिश्चिित भएको दावी गरेका छन् । आफूलाई जिताउन जनताले दिएको मत र त्यो विश्वासलाई खेर जान नदिने प्रण समेत गरे । ‘एमालेले समृद्धिको नारा मात्र बनायो,’ उनले भने, ‘हामी योजना बनाएर त्यसलाई कार्यान्वयनमा लैजान्छौँ ।’ चुनावी अभियानका क्रममा शर्माले दुईपटक अरुलाई लगाएको माला यसपटक मलाई लगाइदिन जनता आतुर रहेको बताए ।

चुनावी अभियानका क्रममा बुधबार विहान मेचीनगर वडा नं -९ को लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्न पुगेका शर्माले जनताको चाहना अनुरुप गठबन्धनको जीत भइसकेको र घोषणा हुन मात्र बाँकी रहेको दाबी गरे ।

शर्माले बुधबार एकैदिन तीनवटा सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । मेचीनगर-९ स्थित खुट्टीडाँगी, मेचीनगर-११ को मंगली चोक तथा बुद्धशान्ति-४ को गणेश मावि छेउमा सम्पर्क कार्यालय उद्घाटन पछि सम्बोधन गरेका थिए ।

कार्यक्रममा शर्मासहित प्रदेश ‘ख’ का उम्मेद्वार श्यामविर लिम्बू, समानुपातिक उम्मेद्वार कालु मेचे, समानुपातिक उम्मेद्वार टेकबहादुर लिम्बू, नेपाली काँग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, काँग्रेस नेता राम कट्टेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए

यस्तै, लोकतान्त्रिक गठबन्धनतर्फका प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङले मेचीनगर-४ बाहुनडाँगी, मेचीनगर-६ को नकलबन्दाका मतदातासँग भेटघाट गरेका छन् । उनले आफूलाई विजय गराएर काम गर्ने मौका प्रदान गर्न आग्रह गरे । ‘हिजो मैले सामाजिक संघसंस्थामा बसेर काम गरेको थिएँ,’ उनले भने, ‘आज म तपाईहरुको प्रतिनिधि बन्दैछु । यहाँहरुको माग र समस्यालाई सम्बोधन गर्न म कति पनि विचलित नभई लागि पर्नेछु ।’

चुनावी अभियानमा समानुपातिक उम्मेद्वार बालजीत राई, काँग्रेसका जिल्ला सदस्य ललित तामाङ, काँग्रेसका प्रदेश ‘क’ सभापति हरि बुढाथोकी, काँग्रेस वडा नं ४ का सभापति सागर कार्की, ६ का पारस सुवेदी, काँग्रेसका निमा लामा, विशाल तामाङ, माओवादी नेता विकास थापा मगर, ध्रुव गिरीलगायत सहभागी थिए ।