बाहुण्डाँगी । बीसहजार जेसीजले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाएको जेसीज सप्ताह आजबाट सकिएको छ । कात्तिक ३० गतेबाट सुरु भएको जेसीज सप्ताह आज शनिबार खुसीयाली जीवनमा राजयोग नामक उत्प्रेरणा कार्यक्रमसँगै समापन भएको हो ।
समापन कार्यक्रममा नेपाल जेसीजका निर्वतमान अध्यक्ष अरुणेश्वर खनाल प्रमुख अतिथि रहनुभएको थियो । उहाँले युवाहरुलाई उज्वल भविष्य निर्माणमा लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “जेसीजले सबै पाटीमा युवालाई स्थापित गरी अग्रजलाई ससम्मान विदाई गर्ने अभियानमा लाग्न प्रेरीत गर्दछ । ” कुनै पनि राजनितिक दलले पर्याप्त रुपमा युवा केन्द्रित कार्यक्रम ल्याउन नसकेको बताउनुभयो ।

विसहजार जेसीजका शाखा अध्यक्ष वेदराज न्यौपानेको अध्यक्षतामा कार्यक्रम समापन भएको हो । उहाँले जेसिज सप्ताह सफल बनाउन सहयोग गर्नुहुने कार्यक्रम संयोजकहरु, वोर्ड सदस्यहरु, पूर्व अध्यक्षहरु र अन्य जेसीज सदस्यहरु एवं शुभचिन्तकहरुमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
समापन कार्यक्रममा पुरानो मेडिकल कलेजका युरोलोजी बिभाग प्रमुख उप प्राध्यापक डा सुदिप राज केसी, एनपिआई सामुदायिक हस्पिटलका वरिष्ठ ग्याष्ट्रोलोजी हेपाटोलोजी तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा। सागर पौडेल, नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष तथा जेसीज अभियान्ता सुदिप सिंह अधिकारी, जेसीआइ नेपाल फाउन्डेसनका अध्यक्ष प्रकाश घिमिरे, जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष एवं नेपाली काङग्रेस चितवनका निवर्तमान सचिव उत्तम जोशी, चितवन र वरपरका १२ जना जेसीजका शाखा अध्यक्ष हरुको उपस्थिति रहेको थियो ।

आजको कार्यक्रममा जेसीज सप्ताहको विभिन्न कार्यक्रमा विजयी भएकाहरुलाई पुरस्कार बितरण, नया सदस्यता बितरण पनि भएको थियो । साथै बीसहजार जेसीजको प्रस्तुती नेपाल जेसीज बर्ष २०२३ को राष्ट्रिय उपाध्यक्ष पदका उम्मेदवार जेसी सन्तोष मजाकोटीलाई बिजयको शुभकामना प्रदान गरिएको महासचिव विजय न्यौपानेले जानकारी दिनुभयो ।

साताव्यापी कार्यक्रम अन्तर्गत जेसीजले पहिलो दिन असोज ३० गते मन्जुश्री आश्रममा स्टेशनरी सामान वितरण गरेको थियो । दोस्रो दिन असोज ३१ गते भरतपुरको युटेक कलेजमा संकट व्यवस्थापन प्रशिक्षण भएको थियो । तेस्रो दिन कात्तिक १ गते शान्तिको लागि सन्देश नामक कार्यक्रम र साँझ साहाराको घरमा खाना खुवाउने कार्यक्रम भएको थियो ।

यस्तै चौथो दिन कात्तिक २ गते समावेशीकरण र विविधता शिर्षकमा युटेक कलेजको सभाहलमा प्रशिक्षण र सोहि दिन साँझ गौतम चोकमा फुटसल कार्यक्रम भएको थियो । पाँचौ दिन कात्तिक ३ गते फरक क्षमता भएका व्यक्तिसँग सहयोग कार्यक्रम भएको थियो भने छैटौ दिन कात्तिक ४ गते रचनात्मक दुरदर्शी नेतृत्व शिर्षकमा युवाहरुलाई प्रशिक्षण भएको थियो ।

