मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन संयुक्त दलको झापा क्षेत्र नं. १ अन्तर्गत बुद्धशान्तिमा आयोजना गरिएको कोणसभाले गठबन्धन दलकातर्फबाट उम्मेदवार रहेका विश्वप्रकाश शर्मा, प्रदेश (ख) का उम्मेद्वार श्यामविर लिम्बू हौसिएका छन् । संघ र प्रदेशका दुवै उम्मेदवार साविक शान्तिनगरमा जन्मिएर हुर्किएका भन्दै स्थानीयले जितको अग्रिम शुभकामनाको सन्देश दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार विश्वप्रकाश शर्माले एकले अर्कालाई गाली गरेर समाज परिवर्तन हुन नसक्ने बताए । उनले समाज बदल्न एकअर्काको सहयोग र सद्भाव आवश्यक रहेको स्पष्ट पारे ।
चुनावी प्रचारको अवधिमा असल संस्कार बसाल्न सबैप्रति अनुरोध गर्दै आएका शर्माले जतिञ्जेल बाँचिन्छ, त्यतिञ्जेल समाज र देश बनाउन समय खर्चिनु पर्नेमा जोड दिए । ‘नेता जित्नका लागि मात्रै बन्ने होइन,’ उनले भने, ‘नेतामा देश र समाज बनाउने चरित्र हुन जरुरी छ ।’
उनले झापा क्षेत्र नंं १ समग्र मुलुक बनाउने महान अभियानमा जोडिएको बताए । ‘त्यसैले समाज बनाउने यो अवसर हामीलाई प्रदान गनोस्, हामी एक वर्षमा गाउँ समाज बनाएर देखाउनेछौँ ।’
कार्यक्रममा प्रदेश (ख) का उम्मेदवार श्यामविर लिम्बूले मतदाताले विश्वास गरेर दिएको मत खेर नजाने वचन दिए । उनले दुवै उम्मेद्वार यसै क्षेत्रका भएकाले काम नगर्ने कुरै नहुने उल्लेख गरे । ‘हामी जे बोल्छौँ, त्यही गर्छौँ,’ उनले भने, ‘बोलेका कुरा हामी पूरा गर्नेछौँ ।’
उम्मेदवार लिम्बूले विजयपश्चात यस क्षेत्रको विकासमा सन्तुलित ढंगले पहल र प्रयत्न गर्ने वचन दिए । त्यसका लागि प्रत्येक वडामा हरेक महिना वडा भिजिट गर्ने र त्यहाँका समस्यालाई सम्बोधन गर्न पहलकदमी गर्ने बताए । आफू पनि सुकुम्बासी रहेको बताउँदै उनले सुकुम्बासी समस्यालाई हल गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वयमा काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश १ सभापति उद्धव थापाले ढाँटको राजनीतिलाई अन्त्य गर्न एकजुट हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली काँग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, संविधान सभा सदस्य उषा गुरुङ, माओवादी केन्द्रका प्रदेश १ कमिटी सदस्य बोधराज दाहाल (असिम) लगायतले मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा चर्चित राष्ट्रिय कलाकार शम्भू राई, जोगिन्दर पानवाला लगायतले मनोरञ्जन प्रदान गरेका थिए ।
यस्तै, बुधबार नै लोकतान्त्रिक बाम गठबन्धनको भद्रपुर–९ र १० वडा केन्द्रित कोण सभामा उम्मेद्वार विश्वप्रकाश शर्मा, प्रदेश (क) का उम्मेद्वार गोपाल तामाङ र (ख) का उम्मेदवार श्यामविर लिम्बूलगायतले सम्बोधन गरेका थिए ।

यता, काँकरभिट्टामा आयोजित कोण सभामा उम्मेद्वार शर्मासहित प्रदेश (क) का उम्मेदवार गोपाल तामाङले यस क्षेत्रको परिवर्तन एक वर्षमै गरेर अनुभूति दिलाउने बताए । किर्तीमानी काम नगरे पनि केही न केही काम गरेर देखाउने उनले प्रतिबद्धता व्यक्त गरे । उम्मेदवार तामाङले राजनीतिलाई कमाइ खाने भाँडो नबनाउने वचन पनि व्यक्त गरे ।

