अर्थ

परनिर्भरता त्याग्दै कृषिमा आत्मनिर्भर बन्न तर्फ सबै लाग्नुपर्छ : मन्त्री सिटौला

झापा । प्रदेश नम्बर १ का उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कृषिमा व्यवसायीकता अबको आवश्यकता भएको बताएका छन् ।

झापाको सुरुङ्गा स्थित धनुकोटी धाम भुरुङ्गामा शनिबार नेपाल पशुपक्षी औषधि व्यवसायी संघ मेची शाखाको दशौं वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री सिटौलाले कृषिमा परनिर्भरता त्याग्दै अब आत्मनिर्भर बन्न तर्फ सबै लाग्नुपर्ने अवस्था आएको बताए । त्यसका लागि आफुले पनि प्रदेश सरकारको तर्फबाट व्यवसायीक कृषिका लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा प्रमुख अतिथि सिटौलासंगै प्रदेश नम्बर १ का उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव मेघनाथ तिम्सिना, प्रदेश नम्बर १ पशुपक्षी विकास निर्देशनालयका निर्देशक डा.पशुपती ढुङ्गाना, नेपाल पशुपक्षी औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष पूर्णचन्द्र सापकोटा, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख सितल भट्टराईलगायतले बोलेका थिए ।

कार्यक्रममा नेपाल पशुपक्षी औषधि व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष रितेश रिमाल, केन्द्रिय सहासचिव नारायण भूजेल, केन्द्रिय सदस्य तथा प्रदेश नं.१ इन्चार्ज कमल बराल, प्रदेश अध्यक्ष अशोक सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।

साधारणसभाको अवसरमा यस क्षेत्रमा आवद्ध भएर जनप्रतिनिधिमा निर्वाचित विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा मेचीनगर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपक बराल, हल्दिबारी गाउँपालिकाका वडा सदस्यमा निर्वाचित तारा ढकाल, इलाम नगरपालिका वडा नम्बर ५ का वडासदस्य प्रमोनन्द दुलाल रहेका छन् । त्यस्तै साना किसान सहकारी संस्थाका अध्यक्ष भूवनसिंह कार्की, दमक उद्योग वाणिज्य संघका सदस्य शुभासचन्द्र गड्तौलालाई पनि सम्मान गरिएको थियो ।

नेपाल पशुपक्षी औषधि व्यवसायी संघ मेची शाखा अध्यक्ष महेस लाल मेचेको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको सञ्चालन सचिव डेनु मगरले गरेका थिए ।