झापा । झापाको भद्रपुरमा जारी “प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप २०७९” को पहिलो क्वार्टरफाइनल खेलमा आज घरेलु टोली भद्रपुर ब्लेजर्स र संकटा एफसीबीच प्रतिष्पर्धा हुँदैछ ।
मेची रंगशालामा हुने प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स र संकटाबीच सेमिफाइनल प्रवेशका लागि आज दिनको २ः३० बजे खेल हुने आयोजकले जनाएको छ । भद्रपुर पहिलो प्रि–क्वार्टरफाइनल खेलमा पाहुना टोली जयगाउँ एफसीमाथि २–० गोल अन्तरले जित निकाल्दै क्वार्टरफाइनल पुगेको हो भने संकटा बाई पाएर सिधै क्वाटरफाइनल प्रवेश गरेको हो ।
त्यस्तै सोमबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा प्रवेश गरेको हो । ‘ए’ डिभिजन लिगको नवप्रवेशी टोली चर्च ब्वाइजको जितमा आशिष चौधरीले २ र गगनदीप सिंहले १ गोल गरे ।
फागुन १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजक समितिका महासचिव जिवन कुमार श्रेष्ठले जानकारी दिए ।

