कनकाई। झापाको कनकाई नगरपालिकाले भोलि आइतबार आव २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। वार्षिक नीति तथा कार्यक्रममा छलफल शुरू हुने, विभिन्न ऐन कानुन पेश हुने नगरपरमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

यस पटक बजेट घटेर आएकाले नगरले वडाको बजेट घटाउने तयारी गरेको बुझिएको छ। उपमेयर आशाशर्मा शिवाकोटीका अनुसार यसपटक पालिकाले वडा नम्बर १ देखि ९ वटै वडालाई विगत वर्ष भन्दा फरक राजस्वका हिसावले बजेट दिने तयारी गरिएको बताउनुभयो ।
कनकाई नगरपालिकाले आगामी आर्थिक वर्षमा विकासमा जनसहभागिता जुटाउने अभियानलाई तिव्रता दिने जनाएको छ। वार्षिक नीति तथा कार्यक्रममा जनसहभागितालाई प्रोत्साहन गर्न हाम्रो विकास हाम्रो हात,जुटौं सबै एकै साथ भन्ने नारालाई अघि बढाउने भएको हो । उपप्रमुख आशा शर्मा शिवाकोटीका अनुसार नीति तथा कार्यक्रममा नगरको विकासका लागि संघ, प्रदेश र अन्तर्राष्ट्रिय दातृ निकायसँग समेत सहकार्य गरिने बताइएको छ।

नयाँ सडकका लागि ट्रयाक खोल्ने भन्दा पुराना सडकको स्तरोन्नतीलाई प्राथमिकतामा राखेर हाल कायम भएका सडकको गुणस्तरीयता वृद्धि गरिने शिवाकोटीले बताउनुभयो । नगरभित्र व्यवस्थित र आचारसंहिता अनुसारको वस्ती विकासका लागि मेयर आवास कार्यक्रम सञ्चालनको प्रस्ताव नीति तथा कार्यक्रममा रहनेछ । नगरपालिकाले दिगो विकासको लक्ष्य बमोजिम समुन्नत सम्पदा दीगो पूर्वाधार,समृद्ध कनकाईको मूल आधार भन्ने नारालाई आदर्शको रुपमा लिएर हरेक विकासका गतिविधि र नगरपालिकाका कार्यक्रमहरु यसै आदर्श बाक्य बमोजिम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

पुरानो वहुबर्षिय आयोजनाको काम र भुक्तानी दायित्व सक्ने गरी नीति कार्यक्रम तथा बजेट आउने जनाइएको छ। भोलिको बजेटको तयारीका लागि प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेसहित कर्मचारीहरु रातको १० :३०बजे सम्म पनि कार्यलयमै खटिएको पाईएको छ।

