मेचीनगर । झापाको बाहुण्डाँगीमा ६० जनाले नेतृत्व विकास सम्बन्धित तालिम लिएका छन् । बाहुण्डाँगी जेसीजले आयोजना गरेको नेतृत्व विकास सम्बन्धित दुईदिने तालिममा १२ बर्षदेखि ६४ बर्षसम्मका किशोर किशोरीदेखि युवा तथा जेष्ठ नागरिकहरुको सक्रिय सहभागिता रहेको थियो ।

मेचीनगर ४ बाहुण्डाँगी स्थित हात्ती रिसोर्टमा आज सम्पन्न तालिममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मी, मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की, कोष तथा लेखा नियन्त्रण कार्यालाय झापाका प्रमुख मधु पोखरेल, शसस्त्र प्रहरी २ नं. गणका डिएसपी चिरञ्जीवी प्रसाईलगायका अतिथिहरुले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख प्रशिक्षकको रुपमा दिपेन्द्र निरौलाले प्रशिक्षण गराएका थिए । मेचीनगर ४ वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भएको तालिम प्रभावकारी भएको तालिममा सहभागी प्रशिक्षार्थीहरुको भनाई छ । छोटो समय भएपनि तालिमले आफुहरुलाई नेतृत्व कसरी गर्ने, नेतृत्व गर्न केकस्ता उपायहरु उपनाउनु पर्दछ लगायत अन्य थुप्रै उपयोगि ज्ञानहरु सिकेको बताए ।

बाहुण्डाँगी जेसीज बर्ष २०२३ का अध्यक्ष केवल निरौलाको अध्यक्षतामा सम्पन्न समापन शत्रमा मेचीनगर ४ का वडा सदस्य पवन बराइली, बाहुण्डाँगी जेसीज बर्ष २०२२ का अध्यक्ष हेमन्त मोक्तान, शसस्त्र प्रहरी बल बिओपी बाहुण्डाँगीका इन्पेक्टर जयकुमार चौधरी, युवा समाजसेवी निरज घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

बाहुण्डाँगी जेसीज बर्ष २०२३ का कार्यक्रमको सञ्चालन महासचिव नित्यानन्द चौलागाई तथा पुरस्कार वितरणको सञ्चालन देबु बानियाँले गरेको कार्यक्रममा कार्यक्रम जेसीज आस्ता वाचन विदार्थ गिरीले गरेका थिए भने स्वागत कार्यक्रम संयोजक सामुल रायले गरेका थिए ।

