राजनीति

कोशी प्रदेश: माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति

विराटनगर ।  कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका सांसद इन्द्र आङ्बोलाई अघि बढाउन सत्ता गठबन्धनका दलहरू सहमत भएका छन्। माओवादी केन्द्रका एक नेताले बुधबार गठबन्धनका दलहरूबीच सहमति भएको बताए।

कांग्रेसले दाबी छाडेपछि माओवादी केन्द्रका आङ्बोले अवसर पाउन लागेका हुन्। तर उनले गठबन्धन बाहिरका दुई दल एमाले वा राप्रपामध्ये कम्तीमा एक दलको साथ पाउनुपर्ने हुन्छ। संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीका दाबी पेस गर्दा सांसदहरूले स्वतन्त्र निर्णय लिन सक्छन्।

यसअघि कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीका रुपमा अघि सार्दा राप्रपाले आङ्बोलाई अघि सारिए समर्थन गर्न सकिने बताएको समाचार सार्वजनिक भएको थियो। मंगलबार बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेट भएको थियो। त्यसमा कोशी प्रदेशमा सघाउनेबारे छलफल भएको बताइएको छ।