झापा । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितका लागि नयाँ सत्ता समिकरण निर्माण भएको बताएका छन् ।
बिहिबार गृह जिल्ला झापामा एमाले एघारौं जिल्ला अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बिगतको गठबन्धनले जनअपेक्षा कुनैपनि काम गर्न नसकेको आरोप लगाए । उनले देश र जनतालाई एउटा निकास दिन वर्तमान नयाँ सत्ता समिकरण निर्माण गरिएको बताए ।
स्वार्थले भरिएको बिगतको गठबन्धनको सरकार खाली भागबण्डा र कुर्सीको स्वार्थमा व्यस्त हुँदै गैरजिम्मेवारी बन्दा देशले ठुलो क्षती व्यहोर्नु परेको छ । त्यसलाई चिर्दै जनताको पक्षमा एक भएर अघि बढ्न अहिले एमालेले सहकार्य गरेको उनको भनाई छ ।
अध्यक्ष ओलीले जनताको पार्टी एमाले मात्रै रहेको बताउँदै सबै एक भएर देश नै एमालेमय बनाउनुर्पे उनको भनाई छ । साथै उनले बैशाखमा हुने उपनिर्वाचनमा एमालेले सफलता हासिल गर्ने दावि गरे ।
जिल्ला अधिवेशनको उद्घाटन शत्रमा एमाले उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र बादल थापा, शेरधन राई, किक्मत कार्की लगायत केन्द्रिय नेतृत्वको सहभागिता रहेको थियो । कावा अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत सहसचिव असारु राजवंशीले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव शिव ढुङ्गेलले गरेका थिए ।
चैत १५ र १६ गते बिर्तामोडस्थित अग्रसेन भवनमा हुने झापा जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

