मेचीनगर । मोफसलको लोकप्रिय गोल्डकपको पहिचान बनाएको मेचीनगर गोल्डकपको पाँचौं संस्करण यहीँ फागुन २१ गतेदेखि सञ्चालन हुँदैछ ।
पाँच बर्ष अघि चौथो संस्करण सम्पन्न गरेको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले त्यस यता कोरोना भाइरसलगायत विविध कारणले प्रतियोगितालाई निरन्तरता दिन सकेको थिएन । जसको कारण मेचीनगरमा राष्ट्रिय स्तरको ए डिभिजनका टिम सम्मेलित फुटबल प्रतियोगिता हुन सकेको थिएन ।

फुटबल खेलको हवको रूपमा स्थापित हुँदै गरेको मेचीनगर क्षेत्रमा गोल्डकपले निरन्तरता नपाउँदा फुटबल खेलप्रति रूचि राख्ने, फुटबलमा नै आफ्नो भविष्य खोज्ने खेलाडी तथा शुभचिन्तकहरू निराश झै थिए । तर, आयोजकले आगामी फागुन २१ गतेदेखि मेचीनगर गोल्डकपको पाँचौं संस्करण आयोजना गर्ने भनी तयारी थालेपछि मेचीनगरमा उत्साह थपिएको छ । केही बर्ष हुन नसकेको प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न अहिले आयोजक लागि परिरहेको छ ।
आयोजकले यतिबेला प्रतियोगिता मुल आयोजक समिति संयोजकमा मेचीनगरका लोकप्रिय पुर्व कोशी प्रदेश सांसद श्रीप्रसाद मैनाली, सहसंयोजक मेचीनगरका पुर्व मेयर विमल आचार्य र सचिवमा सफल युवा व्यवसायी राजु कार्की रहेका छन् । त्यस्तै विमल आचार्यको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।

आज मात्रै पनि आयोजक ट्रेनिङ सेन्टरले मेचीनगरका सक्रिय राजनीति दल तथा समाजसेवीहरूसंग प्रतियोगिताको बारेमा छलफल सम्पन्न गरेको छ । काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरका अध्यक्ष नवराज ओलीको अध्यक्षतामा सम्पन्न छलफलमा पुर्व कोशी प्रदेश सांसद मैनालीसंगै मेचीनगरका पुर्व मेयर विमल आचार्य, नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरू, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु कार्की, सहकारी अभियान्ता रामचन्द्र उप्रेती, समाजसेवी गंगालाल गुरूङलगायत सहभागी थिए ।
काँकरभिट्टा खेलमैदानमा आगामी फागुन २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्नका लागि ७८ लाख ५८ हजार १०० रुपैयाँ लाग्ने अनुमान आयोजकले गरेको छ। प्रतियोगिताको संरक्षकको रूपमा मेचीनगर नगरपालिका रहेको छ ।

प्रतियोगितामा ए डिभिजन क्लबसहित आयोजक र विदेशी २ टिम गरि जम्मा ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगिताको बिजेता टिमले नगद रु १० लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विविध विधाका उत्कृष्ट पुरस्कारहरु समेत प्रदान गरिने आयोजकले जनाएको छ।

