अर्थ खेलकुद

लिम्बुनी ठूली स्मृति कप–२०८१ को आय–व्यय विवरण सार्वजनिक

अर्जुनधारा ।झापाको अर्जुनधारा–३ खुदुनाबारीस्थित परोपकार युवा समूहको आयोजनामा हालै सम्पन्न भएको लिम्बुनी ठूली स्मृति कप प्रदेशस्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०८१को आय–व्यय विवरण शनिबार सार्वजनिक गरिएको छ ।

स्थानीय कैदले पर्यापर्यटन केन्द्रको सभाहलमा समूहका उपाध्यक्ष एवम् प्रतियोगिता मूल आयोजक समितिका संयोजक सूर्य इम्वुङको अध्यक्षता र प्रतियोगिताका मुख्य प्रायोजक हाल अमेरिकाको रोचेष्टर न्यूयोर्क सिटीमा बसोबास गर्ने बाबी सुब्बाको प्रमुख आतिथ्यमा उक्त विवरण सार्वजनिक गरिएको हो ।

कार्यक्रममा आन्तरिक लेखा समितिका संयोजक अर्जुन निरौलाले प्रतियोगिताको आय–व्यय विवरण प्रस्तुत गरेका थिए । जसअनुसार मुख्य प्रायोजक सुब्बाबाट प्रतियोगिता सञ्चालनको लागि १५ लाख ९८ हजार नौ सय ८२ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी अमेरिका निवासीद्वय आरबी खड्काबाट स्थानीय कैदले प्राकृतिक रंगशालाको मैदान व्यवस्थापन तथा मञ्च निर्माण गर्न एक लाख ५० हजार रुपैयाँ र लाल थापाबाट मैदान व्यवस्थापन गर्न १० हजार पचास रुपैयाँ प्राप्त भएको बताइएको छ ।

समूहका पूर्व अध्यक्ष दीपक दुलालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्रवक्ता युवराज चापागाईंले गरेका थिए । स्थानीय कैदले प्राकृतिक रंगशाला निर्माण गर्ने अभियान अन्र्तगत समूहले विगत वर्षहरुदेखि नै फुटबल सम्बन्धी विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।