संघ \संस्था

मेचीनगर ४ ले दियो बाँस तथा काठजन्य हस्तकला तालिम, उद्यमी उत्साहित

झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर -४ बाहुण्डाँगीमा हात्तीमैत्री पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारी सृजना गर्ने उद्देश्यसहित बाँस तथा काठजन्य हस्तकला सामग्री निर्माण तालिम सम्पन्न भएको छ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि नगर उप-प्रमुख मीना पोख्रेल उप्रेतीले बाँस तथा काठजन्य सामग्री निर्माणमार्फत राम्रो आम्दानी गर्न सकिने भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताइन्। उनले नगरपालिकाले उत्पादन भएका सामग्री बजारमा बिक्रीको व्यवस्था मिलाउने प्रतिबद्धता जनाइन्। 

पूर्व बाहुनडाँगी गाविस अध्यक्ष नीलकण्ठ तिवारीले बाँसको उपयोगिता बढाउन वडाले गरेको प्रयासलाई प्रशंसनीय रहेको बताए । वडा अध्यक्ष कार्कीले बाँसजन्य सामग्रीले दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्र र वातावरण संरक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

तालिममा सहभागीहरूले सजावटी सामग्रीदेखि घरायसी र फर्निचरका वस्तु निर्माण गर्न सिकेको र यसै पेसालाई व्यावसायिक रूपमा अघि बढाउने योजना बनाएको बताए । तालिममा सहभागी चेतन अधिकारीले भने, “ म पहिला विदेश बसेर पनि आएको हुँ। तर यो तालिमले मलाई आत्मनिर्भर बन्न प्रेरित गरेको छ, यसलाई व्यावसायिक बनाउने योजना बनाएको छु।”

कार्यक्रममा तालिम सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा उपप्रमुख उप्रेती, रोटरी क्लब अफ काँकरभिट्टा, लायन्स क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।