काठमाडौं, माघ ५ । स्पेनीस सुपर कपको उपाधि एथ्लेटिक विल्बाओ क्लवले जितेको छ । फाइनलमा बार्सिलोनालाई तीन दुई गोल अन्तरले हराउँदै एथ्लेटिकले उपाधि उचालेको हो ।
सेभियाको मैदानमा भएको खेलमा एथ्लेटिकले दुई पटक पछि परेको अवस्थामा कमब्याक गर्दै अतिरीक्त समयमा जित निकाल्न सफल भयो ।
खेलको ४० औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर त्यसको दुई मिनेटमा डी मार्कोसको गोलमा एथ्लेटिकले खेल बराबरी गर्न सफल भयो ।
पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा फेरी ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर ९० औं मिनेटमा एसेइरले गोल गरेपछि खेल दुई दुई गोलको अवस्थामा पुग्यो ।
निर्धारीत ९० मिनेट दुई दुई गोलको बराबरीमा सकिएपछि खेल अतिरीक्त समयमा पुगेको थियो । जसमा खेलको ९३ औं मिनेटमा विलियम्सको गोलमा एथ्लेटिकले बाजि मार्न सफल भयो ।
बिल्वाओको यो तेस्रो सुपरकप उपाधि हो । यसअघि बिल्वाओले १९८४ र २०१५ मा उपाधि जितेको थियो । बार्सिलोनाले सर्वाधिक १३ पटक सुपरकपको उपाधि जितेको छ ।
क्लवको इतिहासमा १३ औं पटक उपाधि जित्ने लक्ष्यमा रहेको बार्सिलोना स्तब्ध हुँदा उसका मुख्य खेलाडी लियोनल मेस्सीले रातो कार्ड पाए । उनले करियरमा पहिलो पटक रातोकार्ड पाएका हुन ।

