बाहुण्डाँगी, ४ माघ । दमक जेसीजका लागि २०२१ को अध्यक्षमा सुयोग खरेल निर्वाचित हुनु भएको छ । शाखाको ४० औँ अधिवेशनले खरेललाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । अध्यक्षका प्रत्यासी सञ्जिव बराल, निरज आचार्य र मुकेशकुमार अग्रवालले शाखाको एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि खरेल सर्वसम्वत निर्वाचित हुनु भएको हो । २०१० मा दमक जेसीजमा प्रवेश गर्नु भएका खरेल शाखामा थिम डाइटेक्ट, उपाध्यक्ष, कार्यकारीणी उपाध्यक्ष र महासचिवको जिम्मेवारी बहन गरिसक्नु भएका अनुभवी व्यक्ति हुन् । उहाँ भेटनरी व्यवसायी हुनुहुन्छ ।
कार्यकारीणी उपाध्यक्ष पदमा आरसी अधिकारी र रमेश लुइँटेल सर्वसम्वत निर्वाचित हुनु भएको छ । एक साता अघि नै अन्य पदमा निर्विरोध भए पनि कार्यकारीणी उपाध्यक्षमा सहमती हुन सकेको थिएन । आज साँझ उक्त पदमा पनि सर्वसम्वत भएपछि निर्वाचन समितिले निर्वाचित नामवली सार्वजनिक गरेको थियो ।
यसैगरी उपाध्यक्षहरुमा अशोक श्रेष्ठ, विनोद उप्रेती, लोकेश सापकोटा, प्रकाश थापा, तालिम संयोजकमा सहदेव भट्टराई र जनसम्पर्क अधिकारीमा राजेन्द्र विमली निर्वाचित भएका निर्वाचन आयुक्त तथा शाखाका पूर्व अध्यक्ष चन्द्र खत्रीले बताउनु भयो । अन्य पदहरुमा भने पदहस्तान्तरण कार्यक्रममा मनाृनित गरिने नवनिर्वाचित अध्यक्ष खरेलले बताउनु भयो ।

