संघ \संस्था

“समाजमा नेतृत्व कसरी गर्ने भन्ने इनरुवा जेसीजसँग सिक्नुहोस’– राष्ट्रिय अध्यक्ष खनाल


बाहुण्डाँगी १८, माघ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले समाजलाई नेतृत्व कसरी गर्नु पर्छ भन्ने कुरा इनरुवा जेसीजसँग सिक्न युवाहरुलाई आग्रह गर्नु भयो ।
शुक्रवार इनरुवा जेसीजको ३७ औँ पदहस्तान्तरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष खनालले जेसीजमा नेतृत्व गरिसकेर सामाजिक नेतृत्वमा महत्वपूर्ण योगदान इनरुवा जेसीजले दिएको बताउनु हुँदै हरेक शाखाले यसको अनुशरण गर्नु पर्ने बताउनु भएको हो ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका खनालले इनरुवा जेसीजले स्थापना समयदेखि यो अवस्थासम्म आइपुग्दा शाखाबाट उत्पादन भएका युवाहरुले यहाँका हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आएको बताउँदै नेपालको उत्कृष्ट शाखा रहेको बताउनु भयो । उहाँले इनरुवा जेसीजका पूर्व अध्यक्षहरुले शाखाको मात्र नभइ नगर, प्रदेश, क्षेत्र, राष्ट्र तथा विभिन्न संघ संस्थामा नेतृत्वदायी भूमिका खेल्नुले पनि यसबाट उत्पादन भएका युवाहरु सक्षम र सवल हुन्छन भन्ने एउटा उदाहरण भएको बताउनु भयो ।

त्यसैगरी इनरुवा जेसीजका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले जेसीजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था भएकाले यसमा लाग्न अनुरोध गरेका छन् ।

उनले जेसीजले युवाहरुको क्षमता विकाससँगै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने परिपार्टीको विकास गर्नुपर्नेमा जोड दिएका थिए । नयाँ पुस्ताका युवाहरुलाई प्रोत्साहन र अगाडि बढाउनुपर्ने र जेसीजमा लागेर परिमार्जन गरी व्यावहारिक जीवनमा परिवर्तन ल्याउन सक्ने साझा संस्था भएको हुँदा युवाहरुलाई बढी प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका थिए ।

नेपाली कांग्रेस १ नम्बर प्रदेशका सचेतक केदार कार्कीले जेसीज गोल्डेन उमेरका लागि उपयुक्त भएको बताउँदै जेसीजले व्यक्तित्व विकाससँगै समाज रुपान्तरण गर्ने, समुन्नत समाज बनाउन सहयोग गर्ने बताएका छन् । इनरुवा जेसीजका पूर्वअध्यक्ष तथा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले युवाहरुले बढी चासो राखेर जेसीजमा लागेर नेतृत्व र व्यक्तित्वको विकास गरी राजनीतिमा आउन आग्रहसमेत गरेका छन् ।
उनले भने, ‘युवाहरु हावाहुरी बतास हो ।’ समयसँगै युवाहरुलाई अवसर दिए समुन्नत समाजसँगै रुपान्तरण गर्न अहम भूमिका खेल्ने उनले बताए । युवाहरुको उज्जव भविष्य राजनीतिमा भएकाले युवापुस्ताहरुले अहम भूमिका खेल्नुपर्नेमा जोड दिँदै जेसीजले नै नेतृत्व गर्न सिकाउने संस्था भएकाले आउने दिनमा २०२१ का अध्यक्ष संयम कोइराला इनरुवा नगरपालिकाको मेयर बन्न सक्ने क्षमतावान व्यक्तिले अवसर र चुनौतीलाई चिर्दै अगाडि बढनुपर्ने बताए ।


कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर महेश पौडेल, इनरुवा जेसीजका पूर्वअध्यक्ष वीरेन्द्र साह, विनोद मिश्रा, सुनोज निरौला, धीरज भट्टराई, शिवनारायण यादल, महिचन्द्र साहलगायतको सहभागिता रहेको थियो ।
संस्थापक अध्यक्ष नारायणप्रसाद पोखरेलको नेतृत्वमा सन १९८४ मा स्थापना भएको इनरुवा जेसीजका संस्थापक सिताराम मेहेता पूर्व भौतिक तथा यातायात राज्य मन्त्री तथा निवर्तमान सांसद छन् । १९९६ का अध्यक्ष राजीव कोइराला नेपाली कांग्रेस सुनसरीका सभापति तथा प्रदेश सांसद समेत हुनुहुन्छ । उहाँ पार्टीको तर्फबाट संसदीय दलका नेता समेत हुनुहुन्छ । २००६ का अध्यक्ष राजन मेहेता इनरुवा नगरपालिकाका वर्तमान नगर प्रमुख हुनुहुन्छ । यस्तै २००५ का अध्यक्ष निखिल पोखरेल नेपाल निजामति कर्मचारी युनियन सुनसरीका अध्यक्ष हुनुहुन्छ । साथै यस संस्थाबाट इनरुवा क्षेत्रका विभिन्न संघ संस्थामा नेतृत्व गरिरहेका शाखाका पूर्व अध्यक्ष सुनोज भारद्धाज निरौलाले बताउनु भयो ।


काउर्यक्रममा २०२१ को अध्यक्षमा निर्वाचित संयम कोइरालाले जिम्मेवारी पाएका छन् । इनरुवाको बसपार्कमा आयोजित पदस्थापना तथा पुरस्कार समारोहबीच उनलाई अध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

२०२० का अध्यक्ष चन्दन यादवले २०२१ का अध्यक्षलाई पद हस्तान्तरण गरेका थिए ।
सो अवसरमा अध्यक्ष कोइरालाको नेतृत्वमा १० जनाको कार्यसमिति समेत बिस्तार गरिएको छ । इनरुवा जेसीजको उपाध्यक्षहरु सत्यनारायण यादव, सञ्जय मेहता, स्वेता साह र साकार पोखरेल रहेका छन् भने कार्यकारी उपाध्यक्षहरुमा खेमराज थापा र मनोज निरौला रहेका छन् । यसैगरी महासचिवमा राकेश निरौला र कोषाध्यक्ष पुष्पा खरेल तथा कानुनी सल्लाहकारमा विकेश मेहता रहेका छन् । अरु बाँकी पदमा अध्यक्ष कोइरालाले पहिलो बैठकबाट मनोनित गर्ने बताएका छन् ।