संघ \संस्था

खानेपानी निर्वाचनः ७५ प्रतिशत मत खस्यो, मत गणना भोली

मेचीनगर, चैत २१ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा ७५ प्रतिशत मत खसेको छ । शनिबार सम्पन्न मतदानमा कुल मतदाता ५ हजार २५९ मध्ये ३ हजार ९५७ मत खसेको हो ।

काँकरभिट्टा मावि परिसरमा सम्पन्न मतदान सौहार्द वातावरणमा सम्पन्न भएको छ । कुल १२ पदका लागि ३१ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा थिए । ५ हजार २५९ मतदाताका लागि एकैपटक २४ स्थानबाट मतदान गर्न सकिने व्यवस्था मिलाइएको थियो ।

भोलि विहान ८ बजेबाट मतगणना सुरु गरिने निर्वाचन समितिले जानकारी दिएको छ । भोलि बेलुकीसम्ममा परिणाम आउँने समितिले जानकारी दिएको छ ।

मतदान गर्नका लागि मतदाताहरुले उल्लेख्य सहभागिता जनाएका छन् । शनिबार सम्पन्न मतदानमा सुरक्षाकर्मी, निर्वाचन कर्मचारी, पर्यवेक्षकलगायतको सक्रिय सहभागिता रहेको थियो ।

मतदान स्थल प्रवेशद्वार अघि अधिकांश उम्मेद्वार मतदाता समक्ष आफ्नो भोट मागेको देखिन्थ्यो ।

आगामी ३ वर्षे कार्यकालका लागि कार्य समिति र लेखा समिति गरी कुल १२ पदमा ३१ जना चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचनमा नेकपा एमाले र राप्रपाको साझा गठबन्धन प्रगतिशिल–लोकतान्त्रिक प्यानल, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चतर्फका उम्मेद्वार चुनावी भिडन्तमा छन् ।

खानेपानी स्थापना भएको २७ वर्षे इतिहासमा यो पटकको नेतृत्वलाई महत्वका साथ हेरिएको छ । उम्मेद्वारी प्रस्तुत गर्दा भएको दलीय गठबन्धन, निर्वाचन आचारसंहिताको विषयमा भएको विवाद, राष्ट्रिय राजनीतिको धु्रवीकृत अवस्थालगायतका कारण यो पटकको निर्वाचनलाई यहाँका आम उपभोक्ता र सरोकारवालाहरुले चासोका साथ हेरेका छन् ।

अध्यक्षमा उम्मेद्वारी दिएका तीनै पक्षका नेतृत्व र सम्बन्धित प्यानलका उम्मेद्वारहरुले निर्वाचनमा आफुहरुले बाजी मार्ने दाबी गरेका छन् ।