समाचार

झापामा निषेधाज्ञा थपियो, अब औषधी पसल र पेट्रोल पम्प बाहेक सबै बन्द हुने

झापा, बैशाख ३० । कोरोना संक्रमण तिब्र रुपमा फैलिए पछि त्यसको नियन्त्रणका लागि भोलिदेखि झापा पुरै ठप्प हुने भएको छ । जिल्लास्थीत कोभिड १९ संक्रमण ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) झापाको आजको बैठकले वैशाख ३१ गते मध्यराति १२ बजेदेखि जिल्लामा औषधी पसल र पेट्रोल पम्प बाहेक सबै बन्द गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञा जारी गरेको एक साता भन्दा बढी समय बितिसक्दा समेत पनि जिल्लामा कोरोना संक्रमणको दर झन बढ्दै गए पछि थप कडाई गरिने लागेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनु भयो ।

सरकारी तथा अत्यावश्यक सेवाका कर्मचारीलाई बिहान ९ देखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म आवतजावत गर्न दिने र अन्य समय कसैलाई पनि हिडडुल गर्न नदिने निर्णय गरिएको डिसिसिएमसी झापाले जनाएको छ ।

खाद्यान्न लगायतका पसलाई समेत खोल्न रोक लगाइएको छ । डेरी उत्पादन र हरियो सागसब्जी र फलफुललाई स्थानीय पालिका र वाणिज्य संघहरुको समन्वयमा बिहान ८ बजे भित्र घर घरमा पुर्याउनु पर्नेछ भने सहकारी संस्थाहरुले घर घर पुगेर बचत संकलन गर्ने कार्य समेतलाई रोक लगाईएको छ ।