काठमाण्डौं, भाद्र ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध नेता कार्यकर्ताहरूले अव आफ्ना नेता तथा कार्यकर्ताका बारेमा टिप्पणी गर्न नपाउने भएका छन् ।
पार्टी एकता भएको १५ महिनामा पहिलोपटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सोमबार बसेको सचिवालय बैठकले आफ्ना नेता र कार्यकर्ताका बारेमा जथाभावी बोल्न नपाइने र त्यसो गरेमा कारबाही गर्ने निर्णय गरेको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता कार्यकर्ताले पार्टी नेताका बारे व्यक्तिगत टिप्पणी गर्नु परे प्रक्रियागत ढंगले पार्टीभित्रै राख्नुपर्ने निर्णय गरेको जानकारी दिए।
प्रवक्ता श्रेष्ठका अनुसार कोही नेता कार्यकर्ताले पार्टी नेताहरूका बारेमा व्यक्तिगत टिप्पणी गर्नु परे पार्टीभित्रै प्रक्रियागत ढंगले राख्नुपर्ने निर्णय गरेको बताए ।
गत बिहीबार बसेको नेकपा सचिवालय बैठकका केन्द्रीय सदस्य एवम् प्रेस संगठनका इन्चार्ज राजेन्द्र गौतमले सचिवालय सदस्य माधव नेपालको विरूद्धमा लेखेको फेसबुक स्ट्याटस र बुधबार साप्तहिकले छापेको समाचारबारे ओली र नेपालबीच चर्काचर्की भएको थियो। त्यसअघि पनि पूर्व एमाले र पूर्व माओवादीका नेकपाका केन्द्रीय सदस्यहरु सामाजिक सञ्जालमै बाझाबाझ गर्दै आएका थिए।
नेकपाको आजको सो बैठकपछि अब उनीहरुले सार्वजनिक ठाउँमा पार्टीभित्रका नेता र कार्यकर्तालाई आरोप प्रत्यारोप गर्न पाउनेछैनन।

