
युवराज आचार्य
झापा, जेष्ठ ३२ । मेचीनगर नगरपालिका वडा नम्बर ५ र ८ स्थित घैलाडुब्बा खोलामा पक्की पुल निर्माण हुँदा सयौं स्थानीय बासिन्दा लाभान्वित हुने भएका छन् ।
मेचीनगर ८ को नमुना टोल हुदै मेचीनगर ५ को पाथिभरा टोल संगै अधेरी (सुरेन्द्रनगर) सम्म आवत–जावत गर्न घैलाडुब्बामा पुल बन्नु अति नै आवश्यक रहेको थियो । स्थानियले बिगत दुई दशक देखि बारम्बार सरोकारवाला निकायलाई जानकारी गराउदा पनि पुल बन्न सकिरहेको थिएन । तर स्थानिय सरकार आए संगै स्थानियको समस्यालाई मध्यनजर गर्दै पक्की पुल निर्माण कार्य अघि बढेको छ । पुल निर्माण सम्पन्न भईसके पछि यहाका बासिन्दाले सुरक्षित र सहजरुपमा आवत–जावत गर्न पाउने छन् ।

प्रतिनिधि सभा सांसद माननिय राम कार्की (पार्थ) को पहलमा संघिय सांसद क्षेत्र विकास कोषबाट ३० लाख बजेट विनियोजन भए संगै स्थानिय जनसहभागिताबाट ३ लाख संकलन गरी कुल ३३ लाखमा पक्की पुल निर्माणकार्यको पहिलो चरणको काम अगाडी बढेको हो ।
मेचीनगर ५ र ८ नमुना टोलबाट मेचीनगर ५ को पाथिभरा टोल जोड्ने घैलाडुब्बा खोलामा पक्की पुल निर्माण उपभोक्ता समिति गठन गरी ०७५ चैत्र २२ गते बाट निर्माण कार्य सुरु गरीएको ११ मिटर लम्बाई र ६ मिटर चौडाई रहेको पुलको स्टिमेट अनुसारको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको उपभोक्ता समितिले बताएको छ ।

प्रतिनिधि सभा सांसद राम कार्की सहित प्रदेश सभा सांसद गोपाल बुडाथोकी, श्रीप्रसाद मैनाली लगायत मेचीनगर ५ र ८ का वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई उपभोक्ता समितिलगायत स्थानिय बासिन्दाले धन्यवाद ब्यक्त गरेका छन् । साथै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै चाडै नै निर्माणधिन पुलले पुर्णता पाउनेमा आशावादी रहेको पुल निर्माण उपभोक्ता समिति अध्यक्ष बिष्णु भट्टराई बताउछन् ।

