काठमाडौं, जेठ २० । सरकारले विदेशमा रहेका र अप्ठेरोमा परेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने भएको छ । सरकारले प्राथमिकतामा विशेष गरी विदेशमा समस्यामा परेका गर्भवती, सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका नागरिक र कोरोना भाइरस कोभिड–१९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएका नागरिकलाई स्वदेश ल्याइने जानकारी दिएको छ ।
नेपाल आउनका लागि अनुमति प्राप्त गरेका तर आउन नपाएका, विदेशमा विभिन्न कारणले सजाय तोकिएर पनि आममाफी पाइसकेका, जुनसुकै बहिर्गमन राहदानी पाएका, आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल आउनुपर्ने अवस्थामा रहेका, श्रम करार अवधि समाप्त भई रोजगारी गुमाएकाहरू आउन पाउने छन् ।
यस्तै ज्येष्ठ नागरिक, सरकारी सेवामा रही तालिममा गएका वा परिवार वा आफन्तको भेटघाटका लागि विदेशमा गएका नागरिक (जो नेपाल आउन नपाएका छन्), अध्ययन समाप्त भएका विद्यार्थीलगायतलाई सरकारले प्राथमिकतामा राखेर स्वदेश ल्याउने तयारी गरेको छ । प्राथमिकतामा परेका नागरिकलाई सम्बन्धित मुलुकका कूटनीतिक नियोग र राजदूतावासमा निवेदन दिएपछि स्वदेश फर्काइने छ ।

