मेचीनगर, साउन २८ । झापाको मेचीनगर नगरपालिकामा आज राति १२ देखि भदौ ३ गतेसम्मका लागि लकडाउनको घोषण भएको छ । समुदायमा कोरोना संक्रमण बढ्न थालेपछि मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयले ७ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको निर्णय अनुसार नगर भित्रका अत्यावश्यक सेवा वाहेकका सवै प्रकारका उद्योग, व्यवसाय, सेवा, शैक्षिक संस्था, कार्यालय, व्यापार, होटल, पसल र सपिङ मल वन्द गर्ने । त्यस्तै मेचीनगर भित्र अत्यावश्यक र मालवाहक वाहेकका सवै सवारी साधन संचालन नगर्ने निर्णय गरेको नगरप्रमुख बिमल आचार्यले जानकारी दिए ।
विशेष कार्यका लागि प्रयोग गरिने सवारी साधन नगरपालिकाले उपलब्ध गराएको पास लिएर मात्र चलाउन सकिने छ । वित्तिय संस्थाहरुको हकमा नेपाल सरकारले तोकेको मापदण्ड वमोजिम संचालन गर्न सकिने नगरपालिकाले निर्णय गरेको छ । धार्मिक, सांस्कृतिक र अन्य मृत्यु संस्कार लगायतका कार्यमा भिडभाड नगर्ने र मलामीमा अधिकतम २५ जनामात्र सहभागि हुन पाउने समेत नगरपालिकाले निर्णय गरेको छ।
डेरी, खाद्यन्न तथा सागसब्जी पसल पूर्ण स्वास्थ्य सुरक्षण विधि अवलम्वन गरी विहान ८ः०० वजे देखि विहान १०ः०० वजेसम्म मात्र संचालन गर्ने ।
अस्पताल र अन्य स्वास्थ्य सेवासँग सम्वन्धित क्षेत्रहरु पुर्ण स्वास्थ्य सुरक्षा बिधि अपनाएर नियमित रुपमा सञ्चालन गर्न सकिने नगरपालिकाले निर्णय गरेको छ ।

