स्वास्थ्य

थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ २ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा पहिलोपटक यति धेरै संख्यामा कोरोना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ पुगेको छ । आइसोलेसनमा रहनेहरुको संख्या २ हजार ६ सय १ रहेको उनले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८५ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १७ हजार ५ सय ८० जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

उनले १३ हजार ९ सय २६ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए । होम आइसेलेनमा रहेका मानिसहरुको २ हजार ८ सय ८७ छ ।

विगत २४ घण्टामा ११ हजार ५ सय २० को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।