राजनीति

कार्यदलको प्रतिवेदनबारे ओली–दाहालबीच आज छलफल हुने

काठमाडौं, भदौं ९ । पार्टी विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार छलफल हुने भएको छ।

सोमबारका लागि तय भएको दुई अध्यक्षबीचको भेटवार्ता अन्तिम समयमा आएर स्थगित भएको थियो । महासचिव बिष्णुप्रसाद पौडेल संयोजकत्वमा गठित कार्यदलले ६ भदौमा बुझाएको प्रतिवेदनबारे दुई जना अध्यक्ष बसेर छलफल गर्ने कार्यतालिका थियो ।

ओली र दाहालले गएको २९ भदौमा गठन गरेको कार्यदललाई १ भदौको सचिवालय बैठकले अनुमोदन गरेको थियो। कार्यदलको प्रतिवेदन सचिवालय र स्थायी कमिटीमा छलफल गरी सहमति खोज्ने शीर्ष नेताहरुले तयारी गरेका छन्।

गएको १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक पार्टी विवाद उत्कर्ष पुगेपछि अनिश्चित बनेको छ। १३ साउनमा स्थायी कमिटी बैठकबारे ओली र दाहालले छुट्टा–छुट्टा निर्णय लिएपछि नेकपा विभाजन उन्मुख भएको थियो।

तर, कार्यदलले ४ मंसीर २०७६ को निर्णयलाई थप परिभाषित गर्ने र १५–१९ माघ २०७६ को केन्द्रीय कमिटीको निर्णयअनुसार, एकताको महाधिवेशनमा केन्द्रीत हुने प्रस्ताव सहित कार्यदलले प्रतिवेदन बुझाएको छ।