खेलकुद

सन्दिपको टिम जमैका तलाबाजको चौथो हार

काठमाडौं, भदौ १७ । क्यारेबियन प्रिमियर लिग क्रिकेट सिपिएलमा नेपाली लेगस्पिनर सन्दिप लामिछानेको टोली जमैका तलावाजले चौथो हार ब्योहोरेको छ । जमैका गएराती ट्रिन्बागो नाईट राईडर्ससंग १९ रनले पराजित भएको हो । यो हारसंगै जमैकाको अघिल्लो चरण प्रबेशको संभावना कमजोर बनेको छ । ट्रिन्बागोले भने आफ्नो अपराजित यात्रालाई सातौ खेलमा पनि निरन्तरता दिएको हो ।

ट्रिन्बागोले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा जमैकाले ६ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो । आन्द्रे रसेलले सर्बाधिक ५० र ग्लेन फिलिप्सको ४१ रन बनाएपनि टोलीको जितमा पर्याप्त भएन । अन्यले उल्लेख्य प्रर्दशन गरेनन् । ट्रिन्बागोका फवाद अहमदले २ तथा ड्वायन ब्राभो, सुनिल नारिन, खारी पिरे र एकिल हुसेनले समान एक विकेट लिए ।

यसअघि ट्रिनिडाड एण्ड टोबागोमा पहिले ब्याटिङ गरेको ट्रिन्बागोले ४ विकेट गुमाएर १ सय ८४ रनको उच्च योगफल तयार पारेको थियो । उसको जितमा कोलिन मुनरोले ६५ र किरन पोलार्डले अबिजित ३३ रनको योगदान गरे । सुनिल नारिनले २९ र लिण्डोल सिमोन्सले २५ रन जोडे ।
जमैकाका कार्लोस ब्रेथवेटले २ तथा सन्दिप लामिछाने र फिडेल ईडुवार्डले समान एक विकेट लिए । आफ्नो उत्कृष्ट लय कायम राख्ने क्रममा सन्दिपले आफ्नो स्पेलमा मात्र २० रन खर्चिएर १ विकेट हात पारेका हुन् । योसंगै जारी सिजनको सिपिएलमा सन्दिपले आफ्नो विकेट संख्या १० पुर्याएका छन् ।