काठमाडौं, भदौ २४ । मृगौला मानव शरीरका सर्वाधिक महत्वपूर्ण अङ्ग मध्ये एक हो । मृगौलाले सही ढंगबाट काम गर्न नसक्दा गम्भीर बिरामी हुन वा मृत्यु समेत हुन सक्छ । प्रत्येक मृगौलाको अत्यन्त जटिल संरचना र कार्य हुन्छ । तिनका दुईवटा महत्वपूर्ण काम हुन्छन्ः शरीरमा उत्पन्न भएका हानिकारक र विषालु तत्वलाई छानेर पिसाबको माध्यमबाट फाल्ने र पानी, तरल पदार्थ, खनिज तथा सोडियम, पोटासियम जस्ता इलेक्ट्रोलाइट रासायनिक पदार्थको सन्तुलन कायम राख्ने । यसका अतिरिक्त मृगौलाले शरीरमा रगत बन्न, हड्डिलाई मजबुत राख्न, रक्तचाप नियन्त्रण गर्न, शरीरमा अम्लोपनको (एसिड) मात्रा सन्तुलित राख्न जस्ता अत्यन्त जरुरी कामहरू पनि गर्छन
मृगौला जीवनका लागि किन आवश्यक छ ?
हामी प्रत्येक दिन फरक फरक मात्रामा भिन्नाभिन्नै खानेकुरा खान्छौँ ।पानी, नुन र अम्लको मात्रा पनि प्रत्येक दिन फरक हुन्छ । खाद्यान्नलाई ऊर्जामा परिणत गर्ने निरन्तरको प्रक्रियामा शरीरमा विषालु पदार्थहरू उत्पादन हुन्छन् । यी पदार्थहरूले शरीरमा तरल, इलेक्ट्रोलाइट र अम्लको मात्रामा परिवर्तन ल्याउँछन् । अवाञ्छित विषालु पदार्थको शरीरमा जम्मा भयो भने त्यो शरीरका लागि हानिकारक र जीवनका लागि जोखिमपूर्ण हुन सक्छ । प्रत्येक मृगौलाले हानिकारक र विषालु पदार्थलाई शरीरबाट फाल्ने अत्यावश्यक कार्य गर्दछ । साथै, तिनले पानी, अम्ल र इलेक्ट्रोलाइट बीचको सही सन्तुलन पनि कायम राख्छन् ।
मृगौलाका कामहरू के हुन्?
मृगौलाको मुख्य काम पिसाब बनाउनु र रगतलाई सफा राख्नु हो । प्रत्येक मृगौलाले शरीरलाई हानिगर्ने पदार्थ तथा शरीरलाई आवश्यक नपर्ने अन्य रसायनलाई छानेर फाल्छ । मृगौलाका महत्वपूर्ण कार्य यस प्रकारका छन्ः
शरीरबाट हानिकारक रासायनिक पदार्थहरूलाई फाल्ने
शरीरलाई हानिगर्ने पदार्थलाई फाली रगतलाई सफा राख्नु मृगौलाको सबैभन्दा महत्वपूर्ण कार्य हो । हामीले खाने खाद्य सामग्रीमा प्रोटिन हुन्छ । शरीरको वृद्धि र मर्मतका लागि प्रोटिन आवश्यक हुन्छ । तर प्रोटिनलाई शरीरले उपयोग गर्दा यसले शरीरको लागि हानिकारक पदार्थ उत्पादन गर्छ । यी पदार्थको शरीरमा जम्मा गरी राख्नु भनेको शरीरभित्र विष राख्नु जस्तै हो । प्रत्येक मृगौलाले रगत र विषालु पदार्थ छान्छ र त्यसलाई अन्त्यमा पिसाबबाट फालिन्छ । शरीरको लागि क्रिएटिनिन र युरिया दुईवटा यस्तो हानिकारक पदार्थ हुन् र तिनलाई रगतमा सजिलै परीक्षण गर्न सकिन्छ । रक्त परीक्षणबाट प्राप्त हुने तिनको मात्राले मृगौलाको कार्य क्षमता र यसमा भएको असर केही हद सम्म दर्शाउछ । दुईवटै मृगौलाले कम काम गर्न थाल्यो वा काम गर्न छोड्यो भने रक्त परीक्षणमा क्रिएटिनिन र युरि याको मात्रा बढ्न थाल्छ ।
शरीरमा बढी भएको तरल पदार्थ फाल्ने
मृगौलाको दोस्रो महत्वपूर्ण काम भनेको बाँच्नका लागि चाहिने आवश्यक पानी शरीरमा राखी बढी भएको पानीलाई पिसाबका रुपमा बाहिर फाली तरल पदार्थको सन्तुलनलाई नियमित बनाउने हो । मृगौलाले काम गर्न छोड्दा त्यसले शरीरमा बढी भएको पानी बाहिर फाल्ने आफ्नो क्षमता गुमाउदै जान्छ । शरीरमा बढी भएको पानीबाट शरीर सुन्निन थाल्छ ।
खनिज र रसायनको सन्तुलन
मृगौलाले खनिज र सोडियम, पोटासियम, हाइड्रोजन, क्याल्सियम, फोसफोरस, म्याग्नेसियम र बाइकार्बोनेट जस्ता रसायनहरूलाई नियमित बनाउने र शरीरको तरलको सामान्य संरचनालाई कायम गर्ने अर्को महत्वपूर्ण भूमिका निर्वाह गर्छ । सोडियमको मात्रामा आउने परिवर्तनले व्यक्तिको मानसिक अवस्थामा प्रभाव ल्याउँछ भने पोटासियमको मात्रामा आउने परिवर्तनले मुटुको सामान्य सञ्चालनका साथै मांसपेशीको कार्यमा गम्भीर नकारात्मक परिवर्तन ल्याउँछ । क्याल्सियम र फोसफोरसको सामान्य स्तरमा कायम राख्नु स्वस्थ हड्डी र दाँतका लागि अत्यावश्यक छ ।
रक्तचापको नियन्त्रण
मृगौलाले विभिन्न प्रकारका हर्मोनहरू उत्पादन गर्छ जसले रक्तचापलाई सही रुपमा नियन्त्रण राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मृगौलाले काम नगर्ने समस्या भएका बिरामीहरूमा हर्मोन उत्पादन तथा नुन र पानीको नियमनमा आउने बाधा अड्चनले उच्च रक्तचापको समस्या निम्त्याउने गर्छ ।
रातो रक्तकोषको उत्पादन
एरिथ्रोपोएटिन मृगौलामा उत्पादन हुने अर्को हर्मोन हो जसले रातो रक्तकोषको उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मृगौलाले काम गर्न बन्द या कम हुँदा एरिथ्रोपोएटिनको उत्पादन घट्छ र यसले रातो रक्तकोषको उत्पादनमा पनि कमी ल्याई रक्तअल्पताको समस्या उत्पन्न हुन्छ । यही कारणले गर्दा फलाम र भिटामिन तयार पार्ने कुराहरू खान दिँदा पनि मृगौलाले काम गर्न छोडेका या काम कम गरेको अवस्थामा बिरामीको हेमोग्लोबिनको(रगत) मात्रामा कमी आँउछ ।
स्वस्थ हाड कायम राख्न
मृगौलाले भिटामिन डी’लाई यसको सक्रिय स्वरुपमा परिवर्तन गर्छ जुन कुरा खाद्यान्नबाट क्याल्सियम सोस्न, हाड र दाँतको वृद्धि गर्न तथा हाडलाई बलियो र स्वस्थ राख्न अत्यावश्यक हुन्छ । मृगौलाले काम गर्न छोड्दा या कम काम गर्दा सक्रिय भिटामिन ।।।डी’को कमीले हाडको वृद्धिमा कमी हुन्छ र हाड कमजोर पनि हुन्छ । बालबालिकाको नबढ्ने वा कम बढ्ने समस्या तिनको मृगौलाले काम नगरेको संकेत पनि हुन सक्छ ।
शरीरमा अम्लपनको मात्रा सन्तुलन
शरीरमा अम्लपनको मात्रा सन्तुलन गर्न मृगौलाको अत्यन्त महत्वपूर्ण भुमिका हुन्छ । हाम्रो शरीरमा अम्लपनको मात्रा बढी भएमा शरीरका महत्वपूर्ण अङ्ग जस्तै मुटु, मस्तिष्कमा नराम्रो असर पर्छ ।

