काठमाडौं, असोज २२ । कोलकत्ता नाईट राईडर्सले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा तेस्रो जित हात पारेको छ । गएराती चेन्नई सुपर किंग्सलाई १० रनले हराउदै कोलकत्ता तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।
१ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो । आईपीएलमा चेन्नईको यो चौथो हार हो । सेन वाटसनले ५०, आम्बाती रायडुले ३० र रबिन्द्र जडेजाले अबिजित २१ रन बनाएपनि टोलीलाई मध्यम लक्ष्यसम्म पुर्याउन सकेनन् । फाफ डुप्लेसीस र साम कुरानले समान १७ रन बनाए ।
कोलकत्ताका शिभम माभी, भरुण चक्रवती, कमलेश नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले समान एक विकेट लिए ।
यसअघि आबुदाबीस्थित शेख जायेद अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ६७ रनको मध्यम योगफल तयार पारेको हो । उसको जितमा राहुल त्रिपाठीले सर्बाधिक ८१ रन बनाए । पाट कुमिन्स र सुनिल नारिनले समान १७ र दिनेश कार्तिकले १२ र शुभमन गीलले ११ रन जोडे । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
चेन्नईका ड्वायन ब्राभोले ३ तथा कर्ण शर्मा, सारदुल ठाकुर र साम कुरानले समान २ विकेट लिए । आईपीएल क्रिकेटमा आज सनराईजर्स हैदरावाद र किंग्स एलाभेन पञ्जाव प्रतिस्पर्धा गर्नेछन् ।

