काठमाडौं, माघ ५ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आजपनि सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा ती रिट निवेदनमाथि सुनुवाइ जारी रहनेछ । सर्वोच्चले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेसँगै ती मुद्दाकाे विषयवस्तुमा हिजाेदेखि मात्र सुनुवाइ थालिएकाे हाे ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रश्मसेर जबरा तथा न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी हुनुहुन्छ । आइतबार बहस नसकिएपछि विघटन सम्बन्धी मुद्दालाई हेर्दाहेर्दैमा राखिएकाे थियाे । ती मुद्दामा आज फेरि सुनुवाइ जारी रहने बताइएकाे छ ।
रिट निवेदकका तर्फबाट सुनील पोखरेल, भीमार्जुन आचार्य, सन्तोष भण्डारी र बद्रीराज भट्टले आइतबार बहस गर्नुभएकाे थियाे । बहसमा रिट निवेदकका वकिलहरूले प्रतिनिधि विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गर्नुभएकाे थियाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ का लागि चुनावकाे मिति ताेक्नुभएकाे छ । साेही विघटनकाे निर्णयविरुद्ध सर्वाेच्चमा १३ वटा रिट निवेदन परेका छन् ।

