काठमाडौं, माघ २७ । चौतर्फी विवादकाबीच सरकारले आगामी वैशाख १७ र २७ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला विभाजन गर्ने निर्णय गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेका अनुसार पहिलो चरणमा १७ गते प्रदेश २, लुम्बिनी, कर्णाली र गण्डकीका ४० जिल्लामा र दोस्रो चरणमा २७ गते वाग्मती, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सोही दिन आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन मिति पनि घोषणा गरिएको थियो ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भनेर सर्वोच्च अदालतमा १३ निवेदन परेका छन् ।
ती निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ भने संसद विघटनको विषयलाई लिएर नेकपा नै टुक्रिएको छ ।

