संघ \संस्था

प्रधानमन्त्री ओलीको गृह जिल्लामा पत्रकारले गरे प्रतिगमन बिरुद्ध प्रदर्शन (तस्वीर सहित)

झापा, माघ २७ । प्रतिगमनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा पत्रकारले प्रदर्शन गरेका छन् ।

प्रेस संगठन र प्रेस युनियन झापा शाखाको संयुक्त आयोजनामा मंगलबार झापाको बिर्तामोडमा प्रदर्शन गर्नेका हुन् । दुई संगठनको बिर्तामोडमा भएको संयुक्त छलफलले प्रदर्शन गर्ने निर्णय भए अनुरुप पत्रकारहरु एक जुट भएर प्रदर्शन गरेका हुन् ।

आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज), नारी सञ्चार गृह, आदिवासी पत्रकार संघसहित विभिन्न पत्रकारजन्य संघ÷संगठनले ऐक्यवद्धता जनाएका थिए ।

ओली नेतृत्वको सरकारले गत पुस ५ गते गरेको संसद विघटन असंवैधानिक रहेको ठहर गर्दै सञ्चारकर्मी सडकमा उत्रेको विरोध सभाका अध्यक्ष समेत रहेका प्रेस संगठन झापा शाखाका अध्यक्ष मुक्ती पौडेलले बताए ।

ओलीको उक्त कदम असंवैधानिक भएको भन्दै नेपाल पत्रकार महासंघले पुस ५ गते नै विज्ञप्ति जारी गर्दै विरोध जनाइसकेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष तारामणि सापकोटा, महासंघ प्रदेश १ का सदस्य तिर्थ सिग्देल, महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाई, महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द क्षेत्री, प्रेस संगठन नेपाल प्रदेश १ का संयोजक राजन केडी, झापा संयोजक मुक्ति पौडल, फोनिजका प्रदेश १ इन्चार्ज दिपिन राई, प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य लोकराज ढकाल, रेडियो विराटकी प्रवन्ध निर्देशक तथा सञ्चारकर्मी लीला अनमोल, आदिवासी पत्रकार संघका अध्यक्ष इन्द्रसिंह राजवंशी, प्रेस संगठनका प्रदेश सदस्य सुव्रत न्यौपाने, नारी सञ्चार गृहकी अध्यक्ष भिमा शिवाकोटीलगायतले ओलीको प्रतिगमन विरुद्ध आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, पत्रकार राजेन्द्र गौतम, देशराज नेम्वाङसहित एकसयवढि झापाली पत्रकारहरु सहभागी थिए ।

कार्यक्रमको सञ्चालन प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पुर्वेलीले गरेकी थिइन् ।