युवराज आचार्य
मेचीनगरं, फागुन १२ । विगत ७ बर्ष अघिदेखी मेचिनगर–६ काँकरभिट्टा स्थित फाईरिङ्ग चोकमा सटर भाडामा लिई हनुमान वर्कशप एण्ड बाइक सोलुसन सञ्चालन गर्दै आएका मेचिनगर–६ का खेमराज राउत अहिले आफ्नो व्यवसायबाट सन्तुष्ट छन् ।

परिवारको साथ, सहयोग र हौसला अनि आफुमा केही गर्छु भन्ने आत्माविश्वास छ भने जस्तोसुकै काममा पनि सफलता मिल्ने बताउछन् उनी । आर्थिक अवस्था कमजोर भएर जिविकोपार्जनका लागि वैदेशिक रोजगारीका क्रममा दुवईमा ५ बर्ष काम गरेर फर्केका राउत भन्छन् बेरोजगारी भएर अर्काकोमा कामको लागि चारै तिर भौतारिनु भन्दा आफ्नै केही गर्छु भनेर यो व्यवसाय सुरु गरेको बताए ।
व्यवसाय सुरु गर्दा धेरै समस्या र चुनौतीहरु थिए तर अहिले ती समस्याहरु कम भएर गएको बताउछन् उनी । अहिले उनको ग्यारेजमा मेचीनगर, बुद्धशान्ति, विर्तामोड, सुरुङ्गालगायतका क्षेत्रबाट थुप्रै मानिसहरु मोटरसाईकल र स्कुटी बनाउन आउने गर्छन् । साथै उनले रिकन्डीसनका मोटरसाईकल र स्कुटी बिक्रि समेत गर्छन् ।

सहारा नेपालका जागीरे राउत आफ्नो धनीपूर्जा नभएका कारण धरौटी राख्न नसक्दा दुई बर्षमा नै जागिर छाड्न बाध्य भएको तितो अनुभव छ उनिसंग । रोजगारीको शिलशिलामा सुरक्षागार्डका लागि दुवई पुगेका उनलाई अर्काको देशमा १२ देखि १४ घण्टा निरन्तर काम गर्दा पनि आफुले पाउनुपर्ने पारिश्रमीक दिन पनि साहुले हिचकिचाउने परिपाटी देखि वाक्क भएर स्वदेशमा नै केही गर्छु भन्ने विश्वासका साथ नेपाल आएर मोटरसाईकल बनाउने व्यवसाय सुरु गरेको बताए ।
वि.स २०७० सालमा ७० हजारको लगानीमा आफुसहित तीन जना स्टापबाट सुरु गरेको व्यवसायले ७ बर्षको अवधिमा पन्द्र लाखबराबरको पुजी बनाउन सफल भईसकेका युवा व्यवसायी खेमराजले बताए । सुरुवातमा एक जना हेड मिस्तीरी र अर्का एकजना हेल्पर राखेरका उनले आफु साहु भए पनि गाडी धुने काम गरेको बताए ।

९ जना स्टाप
आफुसहित ३ जना स्टाप राखेर सञ्चालन गरेको व्यवसायमा उनले ९ जना सम्म स्टापलाई रोजगारी दिई सकेका छन् । कोरोना संक्रमण पश्चात अहिले पनि ३ जना स्टापले नियमित काम गरिरहेका छन् । उनकोमा अहिले मासिक ९ हजार देखि २६ हजारसम्म तलब खाने स्टाफहरु रहेको उनी बताउँछन्।
मासिक ५० हजार आम्दानी
सिप र जाँगर भए आफ्नै ठाँउमा स्वरोजगार बन्न सकिने उनी बताउँछन्। हनुमान वर्कशप एण्ड बाइक सोलुसन बाट महिनाको एक लाख बढी खर्च कटाएर पनि ५० हजार सम्म मासिक कमाइ हुन्छ,’ उनले भने, ‘मेहनत गर्न सके स्वरोजगार बन्न सकिँदो रहेछ।’

