खेलकुद

प्रथम उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता सुरु

मेचीनगर, फागुन २६ । झापाको मेचीनगर ६ स्थित काँकडभिट्टामा प्रथम उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता २०७७ बुधबार बाट सुरू भएको छ ।

प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाकि उपमेयर मीना पोख्रेल उप्रेतीले गरेकी थिईन् ।

मेचीनगर नगरपालिकाको संयोजनमा मिलन क्रिकेट क्लब मेचीनगरले आयोजना गरेको प्रतियोगिता फागुन २९ गते सम्मा सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष बिरू श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन सत्रमा मेचीनगर ५ की वडा सदस्य दुर्गा आचार्य देवकोटा, चन्द्रकला विक, जिल्ला क्रिकेट संघ झापा अध्यक्ष प्रविन थापा, नेकपा एमाले जिल्ला सदस्य देवकुमार राई, अरुयोदय आवशिय माविका प्रिन्सिपल दुर्गाबहादुर लुईटेल, प्रेसक्लब मेचीनगर अध्यक्ष लक्ष्मी उप्रेती, धुलाबारी क्रिकेट क्लब अध्यक्ष सन्दिप शर्मालगायतको आतिथ्यता रहेको थियो ।

आज भएको उद्घाटन खेलमा आयोजक मिलन क्रिकेट क्लब विजयी भएको छ । तीनदिने प्रतियोगितामा सुदूरपश्चिम महिला क्रिकेट क्लबलाई ३८ रनले आयोजकले पराजित गरेको छ ।

पहिले टस जितेर व्याटिङ गरेको आयोजकले ६ विकेटको क्षतिमा ११६ रन जोडेको थियो । ११७ रनको लक्ष्य लिएर मैदान उत्रेको सुदूरपश्चिमले सबै विकेट गुमाउदै ७९ रनमै सिमित भयो ।

आयोजकको तर्फबाट रोमा थापाले ४३ रन जोडदा, रुविना क्षेत्रिले २३ रन, कविता राजवंशी १४ रन, निङ्मा तामाङले ९ रन जोड्न सफल भए । त्यसैगरी आयोजकको तर्फबाट रुविना क्षेत्रि, निशा साह र एलिसा खडियाले समान २÷२ विकेट लिए ।

सुदूरपश्चिको तर्फबाट कविता कुवरले २७ रन जोडदा रेवती धामीले १५ रन, लक्ष्मी चौधरीले ९ रन जोडेकी थिईन् । त्यसैगरी आयोजकको बिरुद्ध मनीसा चौधरी र सरस्वती चौधरीले समान २÷२ विकेट तथा कविता कुवरले १ विकेट लिएकी थिईन् ।

राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रूविना क्षेत्रीको नेतृत्वमा आयोजक मैदानमा उत्रेको थियो । सुदूरपश्चिम महिला क्रिकेट क्लबको नेतृत्व राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य कविता कुवरले गरेकी थिईन् ।

दुवै टिमबाट राष्ट्रिय महिला क्रिकेट टिमका सदस्यहरूले सहभागीता जनाएका छन् । प्रतियोगितामा विजयी टिमले ट्रफी र मेडल प्राप्त गर्नेछन् ।