काठमाडौं, चैत २२ । सरकार परिवर्तनको खेलमा सक्रिय रहेको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज (आइतबार) बस्दैछ ।
नयाँ सत्ता समीकरणमा कसरी अगाडि बढ्ने र आगामी रणनीति के हुन् भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको नेता वर्षमान पुनले बताए । कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सत्ता समीकरणका लागि जाने निर्णय गरिसकेको अवस्थामा माओवादी केन्द्रले भने अझै केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन ।
यस विषयमा आइतबारको बैठकमा छलफल हुने नेता पुनले बताए । उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा पनि छलफल हुने बताए । प्रधानमन्त्री ओलीले माओवादीले समर्थन फिर्ता लिए राजीनामा दिने बताइसकेका छन् ।
संसद विघटन गरेपछि नयाँ सत्ता समीकरणका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष मिलेर ओलीलाई हटाउनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग नयाँ सत्ता समीकरणका लागि पहल गरिरहेका थिए । तर सर्वोच्च अदालतले एमाले र माओवादीको एकतापछि बनेको नेकपालाई अवैधानिक ठहर गरी दुई पार्टीलाई ब्युँताइदिएपछि भने एकीकरणमा समस्या आएको थियो ।
शुक्रबार राति बसेको कांग्रेसको बैठकले ओलीको राजीनामा माग्दै नयाँ सत्ता समीकरणका लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा अगाडि बढ्ने निर्णय गरेको थियो । यदि माओवादीले आइतबार ओलीलाई दिएको समर्थन लिए नेपाली राजनीति नयाँ मुडमा पुग्ने छ । समर्थन फिर्ता भएमा संविधानअनुसार ओलीले एक महिनाभित्र सरकारका लागि बहुमतको समर्थन प्राप्त गर्नुपर्ने हुन्छ ।

