झापा, बैशाख २२। झापामा कोरोना संक्रमणको जोखिम बढेपछि थप कडाई गर्दै पूर्ण निषेधाज्ञा लगाइने भएको छ ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को मंगलबार साझ बसेको बैठकले बुधबार (आज)राति १२ बजेदेखि लागुहुने गरि पूर्णरुपमा निषेधाज्ञा लगाउने निर्णय गरेको हाे ।
झापामा सोमबारदेखि आंशिकरुपमा निषेधाज्ञा लगाइएको थियाे । आंशिक निषेधाज्ञामा विहान ११ बजेसम्म पसल खोल्न दिइएको छ भने जोरबिजोर प्रणालीमा यातायात संचालन भइरहेको छ ।
अब पूर्ण निषेधाज्ञा लागू भएपछि पसल, बजार, यातायात पूर्ण रुपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य बस्तु तथा सेवाको खरिदको कामका साथै अत्यावश्यक सेवा लिनु पर्दा बाहेक कुनै पनि व्यक्ति बाहिर निस्कन नपाइने तिमिल्सिनाले बताए ।
आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।




