अर्थ संघ \संस्था

ढुंङ्गागिटिको अनियमितता अब अख्तियारले हेर्ने

मेचीनगर, जेठ ११ । झापाको मेचीनगर नगरपालिका क्षेत्रका नदिजन्य सामग्री उत्खनन् र बिक्रिबाट संकलन हुने राजश्वको अनियमितता सम्बन्धी छानबिन अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ ।

मेचीनगर नगरकार्यपालिकाको आज(मंगलबार) बसेको बैठकले ढुंङ्गागिटि उत्खनन र बिक्रिको राजश्व सम्बन्धी बिषयको छानविन नगरस्तरीय समितिले मात्रै पूर्ण रुपमा गर्न नसक्ने भन्दै थप अनुसन्धानका लागि अख्तियारलाई जिम्मा दिने निर्णय भएको बुझिएको छ ।

नगरकार्यपालिकाले नै गठन गरेको छानविन समितिले नगरपालिकाकै विभिन्न शाखा र सदस्यहरुसमेत संलग्न भएको बिषयमा छानविन गर्दा आम नागरिकमा शंका उत्पन्न हुने भएकाले थप अनुसन्धानका लागि अख्तियारलाई सिफारिस गरेको बुझिएको छ ।

नगरप्रमुख विमल आचार्यको नेतृत्वमा रहेको छानविन समिति र त्यस अन्तर्गतको उपसमितिले केही तथ्यहरु संकलन गरेको र बिस्तृत अनुसन्धान गरी सत्यतथ्य सबैका सामु ल्याउनका लागि कार्यपालिका बैठकले कार्यालय मार्फत अख्तियारलाई अनुरोध गर्ने बताइएको छ ।

मेचीनगरका नदिमा हुने उत्खनन र त्यसको बिक्रिबाट संकलन हुने राजश्व संकलनमा अनियमितता भएको भन्दै चैत २० गतेको कार्यपालिका बैठकले नगर प्रमुख आचार्यको नेतृत्वमा नगरस्तरिय छानविन समिति गठन गरि अनुसन्धान शुरु गरेको थियो ।

केही दिन यता देखि नागरिक स्तरमै मेचीनगरमा नदीजन्य वस्तुहरुको ओसार पोसार र उत्खनन्का विषयमा चर्चा हुन थालेपछि यो विषयमा विभन्न संचार माध्यायमम समाचार प्रसारण र प्रकाशित भएको थियो ।