संघ \संस्था स्वास्थ्य

प्रेस क्लब मेचीनगरद्वारा अग्रपंक्तिमा कार्यरत पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण

झापा, जेठ १३ । प्रेस क्लब मेचीनगरको आयोजनामा बिहीबार अग्रपंक्तिमा कार्यरत पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

मेचीनगर‐६ काँकरभिट्टास्थित मनिषा पोलिक्लिनिक एण्ड डाइगोनोष्टिक सेन्टर प्रालिको प्राविधिक सहयोगमा सम्पन्न परीक्षणमा अधिकांश पत्रकारहरु सहभागी भएको क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले बताए ।

बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अग्रपंक्तिमा रहेर काम गरि रहेका पत्रकारहरुका लागि प्रेस क्लबले निःशुल्क स्वास्थ्य परीक्षण गर्ने अवसर प्रदान गरेको थियो ।

परीक्षणमा शरीरमा अक्सिजनको मात्रा, मुटुको गति मापनदेखि छातीको एक्से‐रेमार्फत फोक्सोको अवस्थाको बारेमा जानकारी लिएको चिकित्सक दिलिप सुवेदीले बताए ।

प्रारम्भीक चरणको परीक्षणमा सहभागी भएका कसैमा पनि छाती तथा फोक्सोको समस्या नदेखिएको पोलिक्लिनिका सञ्चालक एवम् स्वास्थ्यकर्मी सुवेदीले बताए ।
‘खास समस्या कसैमा देखिएको छैन तर, फोक्सो तथा छाती कसैको पनि सतप्रतिशत सुरक्षीत अवस्थामा देखिदैन, सुवेदीले भने‐ फोक्सो तथा छातीमा कसैन कसैमा धुलो तथा चिसोको प्रभाव देखिन्छ, आफु बचे मात्र आफ्नोे कर्ममा निरन्तरता दिन सकिने हुँदा हालको अवस्थामा उच्च स्वास्थ्य सावधानी अपनाएर काम गर्न म सबै फ्रन्टलाइनरहरुलाई आग्रह गर्दछु ।’

सुवेदीले कोभिडको अनावश्यक त्रासका कारण मानिसले आफ्नो स्वास्थ्य अवस्थाको परीक्षण गराउनै नआउने हुँदा समस्या थप जटिल बन्दै गइरहेको बताए । उनले अहिलेको अवस्थामा कुनै शंका लागेमा वा कुनै स्वास्थ्य समस्या भएमा तत्काल आफ्नो स्वास्थ्य अवस्था परीक्षण गराउन आग्रह गरे ।

कोरोना जोखिममा खास गरी अक्सिजनको मात्राबारे जानकार बन्न र फोक्सो तथा छातीको एक्स‐रे गर्दै निमोनियाँ भए नभएको पत्ता लगाउन चिकित्सिकहरुले सुझाव दिदै आइरहेका बेला क्लबले मानिषा पोेलिक्लिनसँगको सहकार्यमा स्वास्थ्य परीक्षण अभियानको आयोजना गरेको क्लबका सचिव जीआर धितालले बताए ।