समाचार

कोरोना कहर: झापामा निषेधाज्ञा थप एक साता लम्ब्याइयो

झापा, जेठ १३ । झापामा कोरोना संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलने क्रम नरोकिए पछि त्यसको रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञालाई थप एक साता लम्ब्याएको छ । 

जिल्लामा जारी पूर्ण निषेधाज्ञ जेठ १४ गते सकिदै छ । अब त्यसलाई निरन्तरता दिदै थप कडाईका साथ लागु हुनेगरी शुक्रबार (भोलि) राति देखि लागू हुनेगरी जेठ २१ गते सम्मका लागि लम्ब्याईएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाका अनुसार बैठकले खाद्यान्न, माछामासु, तरकारी, फलफूलको हकमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णय जस्ताको त्यस्तै राखेको छ । त्यस्तै घरमा खाद्यान्न अभाव भएको खण्डमा व्यक्तिले स्थानीय पालिका, वाणिज्य सङ्घ र प्रहरीको समन्वयमा पसलबाट खाद्यान्न लैजान पाउने एउटा निर्णय थपेको प्रशासन कार्यालयले जनाएको छ ।
 
विकास निर्माणको हकमा आयोजनासँग सहकार्य गरी निर्माण सामग्री बोक्ने सवारीसाधनलाई स्थानीय तहको सिफारिसमा सञ्चालन गर्न पाउने जनाइएको छ । त्यस्तै, मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, अनावश्यक रुपमा आवतजावत गरेको पाइएमा पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना लाग्ने छ।