खेलकुद

एन्फा र अलमुताइरीबीच सम्झौता नवीकरण

एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने पक्का भएको छ । प्रशिक्षक अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता नवीकरण गरेका छन्।

अलमुताइरीले एन्फासँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका हुन् । उनले सम्झौता एक वर्ष बाँकी रहँदै नवीकरण गरेका हुन्।

प्रशिक्षक अलमुताइरीले सामाजिक संजालबाट आफूले एन्फासँग सम्झौता नवीकरण गरेको बताएका हुन् । ‘कर्मा छिरिङ शेर्पा (एन्फा अध्यक्ष) सँगको भेटपछि मैले नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिन चाहन्छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तै अलमुताइरीले आफूले चाँडै दुई वर्षको योजना र लक्ष्य सार्वजनिक गर्ने बताएका छन् ।

‘हामी चाँडै आगामी दुई वर्षको लक्ष्य र योजना सार्वजनिक गर्नेछौँ । नेपालको फुटबलको भविष्य राम्रो हुने तर आफूहरुलाई त्यसका लागि समय चाहिन्छ’, उनले लेखेका छन्, ‘नेपाली समर्थकको माया मलाईमात्र नभएर खेलाडीहरुलाई पनि चाहिएको छ । हामीलाई सहयोग गर्नुहोस् र हामीमा विश्वास गर्नुहोस ।’

कुवेती प्रशिक्षक अलमुताइरीले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्राएको स्मरणीय छ ।

माल्दिभ्समा दुई साताअघि सम्पन्न साफको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो । उपाधि जित्न नसके पनि नेपाल पहिलोपटक साफको उपविजेता बनेको हो ।

तर, फाइनल अघि प्रशिक्षक अलमुताइरीले फाइनल खेल नेपालको लागि आफ्नो अन्तिम खेल भएको बताएका थिए । अलमुताइरी माल्दिभ्सबाटै कुवेत फर्किएका थिए ।