
झापा । नेपालको पूर्वी सिमावर्ती जिल्ला झापामा पुर्खौदेखि बसोबास गर्दै आएका पाहान समुदायले आफुहरुलाई राज्यले उपेक्षा गरेको आरोप लगाएका छन् । लोपोन्मुख आदिवासी समुदायमा रहेका पाहान जातिलाई राज्यले लोपोन्मुख आदिवासी समुदाय सूचीमा नसमेटेको भन्दै उनीहरुले त्यस्तो आरोप लगाएका हुन्।
आफ्नै भाषा, संस्कृति र छुट्टै रहनसहन समेत भएका पाहान समुदाय झापाको मेचीनगर, भद्रपुर, बाह्रदर्शी, हल्दिबारीलगायतका क्षेत्रमा बसोबास गर्दै आएका छन् । मेचीनगर पन्द्र स्थित ज्यामिरगढीमा ९५ घर परिवार बसोबास गर्दै आएका पाहान समुदाय नेपालमै जम्मा तीन देखि चार सय संख्याको हाराहारीमा मात्र रहेका छन् ।
लोपोन्मुख यी पाहान जातीहरु सरकारी सूचीकरणमा नपर्दा राज्यबाट पाउनु पर्ने विभिन्न सेवा सुविधाबाट समेत बन्चित भइरहेका छन् । सम्बन्धित निकायलाई बारम्बार जानकारी गराउदँ समेत लोपोन्मुख जातीमा सूचीकृत नगरिदा आफुहरुले राज्यबाट पाउनुपर्ने सेवा सुविधा नपाएको बताउछिन् नेहा पाहान ।
सरकारको सम्बन्धित निकायले बेवस्था गर्दा आफुहरु सरकारी सूचीकरणमा छुटेको पाहान समुदायका जेष्ठ नागरिक पेमलाल पाहान बताउछन् । उनले भने ‘हामीले धेरैपटक सरकारसंग आवाज उठाइसकेका छौं,’ ‘तर मागको सुनुवाई अहिलेसम्म भएको छैन ।
अर्काको खेतीपाती तथा चिया मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका यहाँका पाहान समुदायको आर्थिक अवस्था कमजोर रहेका छ । उच्च शिक्षा तथा रोजगारीको पहुचमा पुग्न नसकेका यी समुदाय पछिल्लो समय भने त्यसमा अग्रसर भईरहेका छन् । तर, त्यो अन्य समुदायको तुलनामा पर्याप्त भने नरहेको जानकार बताउछन् ।
सरकारले १०० भन्दा बढी जातजातिलाई जातीय पहिचान दिए पनि पाहन समुदायको भने पहिचान हालसम्म छैन । रोजगारीका लागि फर्म भर्न जाँदा पनि आफ्नो जात खुलाउनु पर्ने भएकाले कतिपयले आफूलाई सन्थाल तथा कतिले अन्य जातीय पहिचान दिँदा विस्तारै पाहान समुदायको जातीय पहिचान समेत गुम्दैे गइरहेको ममता पाहान बताउछिन् ।
कक्षा १२ सम्मको अध्यायन सकेर घरमै बेरोजगारी भई बसेकी ममताले भनिन् आफ्नो जातको पहिचान नहुँदा अध्ययनदेखि रोजगारीसम्म समस्या भोग्नु परिरहेको छ ।
‘हाम्रो पहिचानको मुद्दा कायम छ, राज्यले एउटा जातीय पहिचान दिन सक्नुपर्दथ्यो, तर भएन’, आदिवासी पाहान विकास समिति झापाका अध्यक्ष कुमेत पाहानले भने, ‘कति वर्ष पहिचानविहीन बन्ने, हामीलाई लोपोन्मुख आदिवासी समुदायका रूपमा सरकारले जातीय पहिचान दिनुपर्दछ ।’ राज्यले लोपोन्मुख, अल्पसंख्यक एवं दलित समुदायलाई थप सेवा–सुविधा दिए पनि आफूहरूले त्यो पाउन नसकेको उनले बताए ।
स्थानिय सरकारको तर्फबाट पाहन समुदायको जातीय पहिचान कायम गर्न र राज्यको सेवा सुविधा दिलाउनका लागि सम्बन्धित निकायलाई पहल गरिरहेको मेचीनगर–१५ का वडा अध्यक्ष गुणराज भट्टराई (राजन) ले बताए ।
पुस्तौदेखि नेपालमा बस्दै आएका यी र यस्ता लोपोन्मुख समुदायको संरक्षण गर्ने दायित्व राज्य र त्यसको निकायको हो । तर, सम्बन्धित निकायको बेवस्थाका कारण यी र यस्ता पिछडिएका समुदाया लोप हुने अवस्थामा पुग्दै गइरहेका छन् ।


