स्वास्थ्य

मेचीनगरमा आजदेखि भेरोशेलको दोस्रो डोज

झापा । झापाको मेचीनगरमा यसअघि भेरोशेल खोपको पहिलो डोज लगाएका नागरिकलाई आजदेखि दोस्रो डोज लगाइने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार आजदेखि ३ दिनसम्म यस खोपको दोस्रो मात्रा लगाउन लागिएको हो ।

स्वास्थ्य शाखा संयोजक सविता सापकोटाका अनुसार यसअघि असोजको दोस्रो साता भेरोशेलको पहिलो डोज लगाइएको थियो । त्यसबेला चिया बगानका मजदुर, विभिन्न संघसंस्थाका कर्मचारी लगायतलाई खोप लगाइएको थियो भने वडा वडाबाट पनि खोप प्रदान गरिएको थियो ।

कुन वडामा कहिले खोप कार्यक्रम ?

यस्तै नगरको स्वास्थ्य शाखाका अनुसार आज ९ वटा वडाका नागरिकलाई खोप लगाइनेछ । जसमा वडा नं १, ३, ५, ६, ८, ९, १०, १२ र १३ रहेका छन् । त्यस्तै ३० गते भोली २, ४, ६, ७ , ९, ११, १४ र १५ नं वडामा खोप लगाइनेछ ।

यसैगरि मंसिर १ गते भने ५, ७, ८, ४ र १५ नं वडामा खोप प्रदान गरिनेछ । यसअघि खोप लगाएका मानिसको संख्यालाई आधार मान्दै कुनै वडामा २ दिनसम्म पनि विभिन्न स्थानमा खोप लगाउने स्थान तय गरिएको छ ।