झापा । पूर्वीनाकामा मानिसहरुको चहलपहल निक्कै कम हुन थालेको छ । सधैँ अस्तव्यस्त रहने पूर्वीनाकामा विगत केहिदिन देखि भने चहलपहलमा कमी आएको नाकामा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् ।
भारतका विभिन्न राज्यमा कोरोनाको ओमिक्रोन भेरियेन्ट फैलिरहेकाले प्रशासनले यस नाकामा निक्कै कडाई गरिरहेको छ । नाकामा नै कोरोनाको परिक्षणको व्यवस्था गरिएको छ भने खोपको व्यवस्था पनि नाकामा नै गरिएको छ ।
तरपनि नाकाबाट हुने आवतजावत घटेको नाकामा राखिएको तथ्यांकले नै देखाएको छ । यस नाकाबाट अहिले दैनिक ४ सयको हाराहारीमा आवतजावत भइरहेको नाकामा राखिएको तथ्यांकमा उल्लेख छ । यद्यपी यस तथ्यांकमा सिमावर्ती बजारमा किनमेलका लागि जानको भने अभिलेख राखिएको छैन ।
हामी सोमबार दिउँसो नाकामा पुग्दा पनि नाका अन्य बेला जस्तो अस्तव्यस्त थिएन । नाकामा गरिएका विभिन्न प्रतिबन्धहरुले पनि आवतजावत कम भएको सरोकारवालाहरु बताउँछन् । नाकामा अहिले खोप लगाएका भारतिय नागरिकलाई मात्रै नेपाल प्रवेश दिइएको छ ।
“नेपाली नागरिकको हकमा यदि कोहि नेपाली नागरिकले खोप लगाउनुभएको छैन भने पनि हामीले नाकामा नै खोपको व्यवस्था गरेका छौँ ।” नाकामा खटिनुभएका एक सुरक्षाकर्मीले भन्नुभयो । “खोप कार्ड नभएकालाई भारत नै फर्काइदिने गरेका कारण पनि चहलपहल कम भएको हो ।”
यसरी नाकाबाट हुने आवतजावत घटेपनि नाकामा कोरोनाको संक्रमण देखिने क्रम भने बढेको पाइएको छ । नाकामा गरिने परिक्षण घटेको छ तर संक्रमण देखिने क्रम बढेको छ । नाकामा राखिएको तथ्यांक अनुसार आज मात्रै ६० जनाको परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको छ ।
जबकी गत पुष ३० गते १ सय ५ जनाको परिक्षण गर्दा १९ जनामा संक्रमण देखिएको थियो । अनि हिजो ३५ जनाको परिक्षण गर्दा ७ जनामा संक्रमण देखिएको थियो । यसरी परिक्षण कम भएपनि संक्रमण देखिने क्रम घटेको छैन ।
नाकामा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित :-
यस्तै नाकामा खटिएका स्वास्थ्यकर्मी पनि कोरोनाबाट संक्रमित भएको पाइएको छ । कोरोना परिक्षण गर्ने ल्याबमा बस्ने तथा अभिलेख राख्ने स्थानमा रहने स्वास्थ्य कर्मचारी नै संक्रमित भएका हुन् ।
“अहिले सम्म ३ जना संक्रमित भइसकेका छन्, अन्य पनि बिरामी छन् ।” ल्याबमा रहनुभएकी एकजना स्वास्थ्यकर्मीले भन्नुभयो “साथीहरु नै संक्रमित भएपछि जनशक्ति पनि कम भएको छ, सिमित जनशक्तिले मात्रै काम गर्नुपरिरहेको छ ।”

