झापा । उत्तरी मेचीनगरमा जंगली हात्तीको आतंक फेरी बढ्न थालेको छ । सिमामा लगाइएको विद्युतिय तारबार भत्काएर हात्ती नेपाल प्रवेश गर्न थालेसगैँ बाहुण्डाँगी क्षेत्रमा हात्तीको आतंक बढेको हो ।
गएराति मात्रै विद्युतिय तारबार भत्काएर नेपाल आएका दुईवटा हात्तीले मेचीनगर ४ का स्थानीयले लगाएका तरकारीबाली नष्ट गरिदिएको छ । रातको समयमा आएका दुई वटा हात्तीले खन्ने बेला भएको करिब ६० मन आलु खाएर तथा कुुल्चिएर नष्ट गरिदिनुका साथै सिमि, तोरी, रहरी लगायतका बालीमा क्षती गरेको हो ।
मेचीनगर ४ स्थित राइसिङ पुल उत्तर तर्फका स्थानीयको बारीमा जंगली हात्तीले उक्त क्षती गरेको हो । यस क्षेत्रका स्थानीय चेत बहादुर श्रेष्ठका अनुसार बर्षभरी खाने अन्न हात्तीले एकैरातमा सखाप बनाइदिएको छ । “बर्षभरी खाने तरकारी हात्तीले एकैरातमा सखाप बनाइदियो, मेरो बारीमा मात्रै करिब १५ मन आलु खाइदिएको छ ।” उहाँले भन्नुभयो “हामी सधैँ हात्तीको त्रासमा छाँै ।”
जंगली हात्तीले उहाँको मात्रै होइन स्थानीय नर बहादुर प्रधानको करिब १० मन, कृष्ण बहादुर बुढाथोकीको करिब १२ मन, दुर्गा बहादुर न्यौपानेको करिब १५ मन गरि अन्य धेरै स्थानीयको बारीमा खन्न तयार भएको आलु नष्ट गरिदिएको छ । यसरी जंगली हात्तीको आतंकबाट आजित बनेका स्थानीय नागरिकहरु हात्तीका कारण आफुहरु सधैँ त्रासमा रहेपनि कतैबाट सहयोग नपाएको बताउँछन् ।
“हामी सधैँ त्रासमा छौँ, हात्तीबाट अन्न जोगाउन हामीलाई निक्कै मुस्किल छ ।” स्थानीय नर बहादुर प्रधानले भन्नुभयो “तर हामीले यसरी क्षती बेहोरिरहँदा हामीलाई कुनै निकाय सोध्नसम्म पनि आउँदैन, हामी सबै क्षेत्रबाट एक्लो भएका छौँ ।” उहाँका अनुसार हात्तीका कारण धेरै स्थानीयले क्षती बेहोरेपनि क्षतीपुर्ती भने कसैले पनि पाउँदैनन् । कुनैपनि निकाय क्षतीको बारेमा सोध्नसम्म पनि नआएको उहाँ बताउनुहुन्छ ।
हुन त बाहुण्डाँगी क्षेत्र हात्तीबाट सधैँ प्रभावित हुने क्षेत्र नै हो । तरपनि विगत केहिदिन देखि भने हात्ती आतंक रोकिएको थियो । तर गएराति विद्युतिय तारबार भत्काएर आएका २ वटा हात्तीले भने फेरी बाहुण्डागीँ क्षेत्रका स्थानीयमा त्रास सृजना गरेको छ । अब बाँकी रहेका अन्य बाली हात्तीबाट कसरी बचाउने किसान अन्योलमा छन् ।
यता सिमामा लगाइएको विद्युतिय तारबारले पनि हात्तीलाई नेपाल प्रवेश गर्नबाट रोक्न छाडिसकेको छ । “तारबारले हञ्जा हात्तीलाई नेपाल आउन रोकेपनि एकदुई वटामा आउने हात्तीलाई रोक्न सक्दैन ।” स्थानीय शंकर लुइँटेलले भन्नुभयो “हात्तीले विद्युतिय तारबारलाई पनि जितिसकेकाले अब बाहुण्डागीँ क्षेत्रमा निक्कै ठुलो चुनौती देखा परेको छ, जसमा सरोकारवाला निकायले बेलैमा ध्यान दिनुपर्छ ।”

