राजनीति

एमालेको तर्फबाट मेयरमा समायोजनका भण्डारीको चर्चा

पथरी । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै पालिका–पालिकामा मेयर–उपमेयर र प्रमुख–उपप्रमुख को हुने हुन् ? सर्वत्र चर्चा बटुलिन सुरु भएको छ । उत्तर–दक्षिण फैलिएको लाम्चो भौगोलिक सन्तुलन, बसोबासमा आधारित समुदाय र यसको जनघनत्व र राजनीतिक समायोजनको वैधानिक संरचनागत व्यवस्थापनका आधारमा उल्लेख संख्या रहेको मोरङको पथरी शनिश्चरे नगरपालिका यतिबेला चर्चाको विषयकेन्द्र हुने गरेको छ ।

एमालेका प्रदेश कमिटी सदस्य रामकुमार बस्नेत र जिल्ला कमिटी सदस्य भगतचन्द्र थपलियाको चर्चा सामाजिक सञ्जाल र केही विद्युतीय माध्यममार्फत चुलिएसँगै निर्णायक तहमा राजनीतिक समायोजनको सम्बोधन र व्यवस्थापनको विषय लिएर कोर्स एकाएक फेरबदल भएको बुझिएको छ । माओवादी हुँदै एमालेमा समायोजन भएका नेता देवराज भण्डारी र विजय डाँगीले आफूहरू नफर्कने शर्तमा नगर प्रमुखमा दावी गरेसँगै यो चर्चाले एकाएक बजार लिएको विद्वान् वर्ग बताउने गर्छन् ।

प्रस्तावित ९ जना मेयर र ९ जना उपमेयरको नामलाई उपल्लो कमिटी भनेअनुसार साँघुरो बनाउन बसेको आजको सहजीकरण संयन्त्रको बैठकले पनि राजनीतिक समायोजनको प्रश्नलाई अनिवार्य व्यवस्थापन गर्न निर्देशनात्मक ढंगले अह्राएको बैठकमा सहभागी एकजना नेताले बताएका छन् । मोरङका १७ वटा पालिकामध्ये समायोजनको राजनीतिक–बैचारिक र संगठनात्मक पक्षमा उल्लेख्य सहभागिता रहेको पालिका भनेकै पथरी शनिश्चरे नगरपालिका हो । यसको समोचित् व्यवस्थापनमा कुनै कसर राख्नु नहुने बैठकमा सहभागी नेताहरू बताउने गर्छन् ।

नेतृत्वको दवावस्वरुप नामलाई साँघुरो बनाउने प्रयत्न भए पनि यहाँको कम्युनिष्ट आन्दोलनका पुराना नेता मोहनप्रसाद तुम्बापो, पार्टी केन्द्रीय सदस्य युवराज बास्कोटा र समायोजनका तर्फबाट पार्टीको प्रदेश कमिटी सदस्य देवराज भण्डारीको नाम क्रमशः माथिल्लो कमिटीमा पठाउन चाहेको नाम नखुलाउने शर्तमा एकजना नेताले बताउन चाहेका छन् । तीन सदस्यीय दायरालाई खुकुल्याउन चाहेमात्र मेयरमा ५ जना प्रस्ताव गर्न सकिने र यसमा पार्टी प्रदेश कमिटी सदस्य रामकुमार बस्नेत र बहालवाला मेयर दिलिपकुमार राईंको नाम जोड्न सकिने ती नेताले बताए ।

यो भएसँगै मेयरमा प्रस्तावित बहालवाला उपमेयर यमुना विष्ट बास्तोला उपमेयरमा सीमित रहन पुगेकी छिन् भने देवीमाया काफ्ले, सरस्वती चौधरी, रिता डाँगी थपलिया र दुर्गादेवी दंगाल सुवेदीलाई प्रवल दावेदारको रूपमा लिएको एक नेताले बताएका छन् । नेतृ विष्टको नामलाई पुनः दोस्रोपटक उपमेयरमै लिएसँगै सर्वत्र चासो र चर्चा बढ्न लागेको आभास सामाजिक सञ्जालबाट हुन्छ । लगातार तीनपटक जिल्ला कमिटी सदस्य काफ्ले पछिल्लोपटक नै उपमेयरको नजिकनजिक थिइन् ।

१० वटा वडा रहेको नगरपालिकामा ४ वटा वडामा सर्वसम्मत वडाध्यक्ष तय भइसकेकोले नगर प्रमुख र उपप्रमुखमा सर्वसम्मतिको प्रयास भएको नगर सचिव भीमकुमार राईंले संवादको क्रममा बताए । नेता राईंका अनुसार संवादमार्फत सहमतिका लागि जिल्लाले थप दुई दिनको समय उपलब्ध गराएको बताएका छन् । यो मात्र एक उद्देश्यका लागि मोरङ संघीय निर्वाचन क्षेत्र नं. ३ को निर्वाचन परिचालन र सहजीकरण संयन्त्रको पथरी शनिश्चरे खण्डको बैठकमा आज पथरीमा सम्पन्न भएको थियो । बैठकमा संयन्त्रका प्रमुख एमाले भानुभक्त ढकाल, विनोद ढकाल, युवराज बास्कोटा, राजमति इङनामलगायतको उपस्थिति रहेको थियो ।