धुलाबारी । उपचारका लागि खर्च गर्ने सामथ्र्य नभएर मेचीनगर नगरपालिका वडा नं. १० का ६५ वर्षीय गोपाल दर्जी घरमै थला परेका छन् ।
उनलाई घाँटीको क्यान्सर भएको छ । चार महिना अघि भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डाक्टरले उनलाई क्यान्सर लागेको पुष्टि गर्दै तत्काल किमोले सेकाउन सुझाव दिएका थिए । उपचार गर्ने रकम नभएपछि विरामी गोपाल दर्जीलाई घरमै फर्काउन बाध्य भएको उनकी पत्नी मनमाया दर्जीले बताइन् ।
ऐलानी केही धुर जग्गामा सानो झुपडी बनाएर बस्दै आएको दर्जी परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक छ । ‘घरमा खान लाउनकै समस्या छ, उपचार खर्च कहाँबाट जुटाउनु ?,’ मनमाया भन्छिन्, ‘हामीसँग केही उपाय नै छैन ।’
बिरामीको हालत दिनानुदिन नाजुक बन्दै गएको छ । ओछ्यानबाट उठाउन सहारा चाहिने उनको बोली बाहिर आउँदैन । दम बढेर स्याँस्याँ हुन्छ । खानका लागि मुख बाउँन समेत अप्ठेरो भएकाले कोदोको खोले बिस्तारै मुखबाट छिराउने गरिएको मनमायाले बताइन् ।
‘ऐलानी जग्गामा सानो झुप्रो हालेर बसेका छाँै,’ मनमायाले भनिन्, ‘उपचार गर्ने पैसा फुट्टो छैन । सबैले आर्थिक सहयोग गरिदिए बचाउन सकिन्थ्यो होला ।’
गोपाल दर्जीले बिगत १२ बर्षदेखि नेपाल टेलिकम कार्यालय धुलाबारीमा गार्डको अस्थायी जागिर गर्दै आएका थिए । बिरामले च्यापेपछि उनी काममा जान सकेका छैनन् । उमेर र तागत हुञ्जेल काम लगाउने टेलिकम जस्तो धनी सरकारी स्वामित्वको संस्थाले पनि आफ्नो कर्मचारीको उपचारमा चासो दिएको छैन ।
छरछिमेकीले दुई चार रुपैयाँ चन्दा उठाउने प्रयास गरिरहेका छन् । डाक्टरले किमो दिएर शल्यक्रिया गर्नुपर्ने भएकाले पैसाको जोहो गरेर आउन भनेको मनमाया सुनाउँछिन् । उनी बिरामी भएको मेचीनगरका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई थाहा छ । ‘हिजो चुनावमा नमस्ते गर्दै भोट माग्न आउनेहरु अहिले यस्तो हालत हुँदा अनुहार देखाउन पर्ला भनेर आएका छैनन्,’ दर्जी परिवारको एक छिमेकीले बताए ।
मनमायाले आफ्नो पतिको उपचारका लागि आर्थिक सहयोग गरिदिन देश विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाईहरुलाई अनुरोध गरेकी छन् । ‘मेरा श्रीमान साह्रै असल र मिहेनती हुनुहुन्छ, तर अहिले यस्तो रोग लागेर ओछ्यानमा पर्नुभयो,’ उनले सहयोगको अपेक्षा गर्दै भनेकी छन्, ‘भएको जेथो र सरसापटी गरेर एक डेढ लाख अहिलेसम्मको उपचारमा सकियो । अब हामीसँग केही बाँकी छैन ।
‘मेरा श्रीमानले नै डिउटी गरेर हामी सबैलाई पाल्नुहुन्थ्यो । अब उहाँ नै थला परेपछि हामी भोकभोकै पर्ने अवस्था आयो । जसरी हुन्छ सहयोग गरेर मेरा श्रीमानको उपचार गराउने व्यवस्था गरिदिनुहोस्,’ उनले भनिन् ।

