झापा । झापाका एक सहकारीका अध्यक्ष सुमन खनालले राष्ट्रिय स्वतन्त्र पार्टी झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरालाई धम्की दिएको खुलेको छ । धम्क्याउने खनाल शिवसताक्षी–३ पाराबारीस्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुनुहुन्छ । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम फिर्ता नगरेको विषयमा रास्वपा नेता सुस्केराले भिडियो बनाएर सामाजिक सञ्जालमा हालेपछि आक्रोशित खनालले फागुन ८ गते फोनबाट धम्क्याएको रास्वपा झापाले जनाएको छ ।
खनालले रास्वपा नेता सुस्केरालाई फोनबाट ‘महँगो पर्ला, दुई चार वर्षपछि भए पनि चुक्ता गर्छु तसँग,’ भन्दै धम्की दिएको सुस्केराले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नु भएको छ । खनाल अध्यक्ष रहेको सहकारीले सर्वसाधारणको एक करोड ६३ लाख बचत रकम फिर्ता गर्न नसकेको सुस्केराले बताउनुभयो । उहाँले पीडित भनिएका सर्वसाधारणसँग कुराकानी गरेर भिडियो बनाई सामाजिक सञ्जालमा हाल्ने गर्नु भएको थियो ।
यसैबीच, रास्वपा झापाका संयोजक उमेश खरेलले आज प्रेस विज्ञप्ति जारी गरी आफ्ना कार्यकर्तालाई धम्क्याउने खनालमाथि कार्वाहीको माग गर्नु भएको छ । खरेलले धम्की दिने कार्यको निन्दा पनि गर्नु भएको छ । ‘समस्या समाधान गर्नुको साटो बचतकर्ता र अभियन्तालाई गालीगलौज गर्ने र जे पनि गर्छु भनी धाकधम्की दिनु बिचलित र आपराधिक मानसिकता बाहेक केही होइन,’ विज्ञप्तिमा भनिएको छ–‘सार्वजनिक रुपमा क्षमायाचना गरी समस्या समाधान गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछौं ।’

