मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा हात्तीपाईले रोग विरूद्धको आम औंषधी सेवन कार्यक्रम सफल पार्न नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ ।
मेचीनगर स्वास्थ्य शाखाले आगामी १६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने हात्तीपाईले रोग विरूद्धको राष्ट्रिय अभियानको पुर्व सन्ध्यामा आज नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न गरेको हो ।

कार्यक्रममा मेचीनगर हात्तीपाईले रोगको उच्च जोखिममा रहेको बताउँदै त्यसलाई अभियान मार्फत निर्मुलन पार्न सबै लाग्नुपर्नेमा जोड दिइएको थियो ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, बरिस्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटी, विभिन्न वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्य, स्वास्थ्यकर्मी लगायत विभिन्न संघसंस्थाको प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले गरेकी थिइन् । उनले बिशेषगरी मेचीनगरको शहरी क्षेत्र काँकरभिट्टा, धुलाबारीलगायतको क्षेत्रमा बढी सकस पर्ने गरेको विगतको तितो यथार्थ रहेको बताइन्। त्यसलाई यसपटक सफल पार्न स्थानीय जनप्रतिनिधि, सामाजिक व्यक्तित्वहरूको साथ आवश्यक रहेको बताइन् ।

