खेलकुद

बर्खा स्मृति पुरुष क्रिकेटमा आज मेचीनगरको सामना हल्दिबारीले गर्ने

मेचीनगर । झापाको बुद्धशान्तिमा जारी दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको आज मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका बिच प्रतिष्पर्धा हुँदैछ ।

प्रतियोगितामा बलियो टिमको रूपमा रहेको मेचीनगर उच्च मनोबलका साथ मैदान उत्रँदा त्यसको सामाना गर्ने दाउमा हल्दिबारी रहनेछ । यी दुई टिमबीचको खेल रोमाञ्चक हुने आयोजकले जनाएको छ ।

मेचीनगरको टिमलाई विजयीको लागि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, मेचीनगर खेलकुद विकास समितिका संयोजक हृदय राजवंशी, उपाध्यक्ष रविन ओझालगायतले नगरपालिका परिसरमा एक संक्षिप्त कार्यक्रम मार्फत प्रतियोगितामा सहभागी खेलाडी, कोच र अफिसियललाई अग्रिम शुभकामना दिएका छन् ।

मेचीनगर खेलकुद विकास समितिका उपाध्यक्ष रविन ओझाले पहिलो संस्करणमा सेमिफाइनल बाट आउट भएको मेचीनगर यसपटक भने आफ्नो टिमले प्रशिक्षण लगायत खेलाडीको उच्च मनोबलका लागि आवश्यक सम्पुर्णकार्य गरिएको बताउँदै प्रतियोगिता जित्ने दाउमा रहेको बताए ।

बुद्धशान्ति–३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा जारी प्रतियोगितामा झापाका १५ वटै पालिका सहभागी रहेको छ। प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने छन् ।